खोटाङ । खोटाङको सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा निर्माण गरिएको मोटरकारसहित सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल सञ्चालनमा आएको छ। पुल निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सवारीसाधनलाई आवतजावतका लागि अनुमति दिइएको हो।
सङ्घीय सरकारको समपूरक अनुदानमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि खोटाङ–पाप्माखाम भञ्ज्याङ सडकखण्डमा वर्षभरि सहज रूपमा यातायात सञ्चालन गर्न सकिने भएको छ। यसअघि वर्षायाममा खोलामा पानी बढ्दा स्थानीयवासी र यात्रुले आवतजावतमा सास्ती बेहोर्नुपर्थ्यो।
२० दशमलव ९० मिटर लम्बाइ रहेको पुलले स्थानीय बासिन्दाको दैनिक आवागमनका साथै कृषि उत्पादन ढुवानी र व्यापारिक गतिविधिलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ। पुल सञ्चालनमा आएपछि आसपासका बस्तीको यातायात पहुँच थप मजबुत भएको छ।
यसैबीच, २०७५ सालमा ट्र्याक खोलिएको ३३ किलोमिटर लामो खोटाङबजार–पाप्माखाम भञ्ज्याङ सडकको स्तरोन्नतिको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। यसका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।
