काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएको आज १०० दिन पूरा भएको छ। सरकारमा रहेका सबै मन्त्रीहरूले आज सम्बन्धित मन्त्रालयको सयदिने उपलब्धि सार्वजनिक गरेका छन्। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत सरकारका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका हुन्।
प्रवक्ता पोखरेलका अनुसार सरकारले पहिलो १०० दिनमा सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक गतिविधि चलायमान बनाउने, पूर्वाधार विकासलाई तीव्रता दिने, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारीका क्षेत्रमा विभिन्न नीतिगत तथा कार्यगत सुधारलाई प्राथमिकतामा राखेर काम गरेको छ। मन्त्रालयगत रूपमा सम्पन्न भएका योजनाहरू, कानुनी सुधार, प्रशासनिक प्रक्रियाको सरलीकरण, लगानी प्रवर्द्धन तथा डिजिटल सेवा विस्तारका उपलब्धिहरू पनि सार्वजनिक गरिएको उनले जानकारी दिए।
उनले सरकारले आगामी दिनमा सयदिने उपलब्धिलाई आधार बनाएर दीर्घकालीन विकास लक्ष्य हासिल गर्ने गरी कामलाई अझ प्रभावकारी बनाउने बताए। जनतासँग गरेका प्रतिबद्धता कार्यान्वयन, सुशासनलाई संस्थागत गर्ने, भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई थप सहज बनाउने तथा आर्थिक सुधारका कार्यक्रमलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै पहिलो १०० दिन सरकारको कार्यदिशा तय गर्ने महत्वपूर्ण चरण भएको दाबी गरे।
