काठमाण्डौं । मधेश आन्दोलनमा घाइते प्रहरीलाइए एम्बुलेन्सबाट थुतेर मारेको अभियोगमा पुर्ब सांसद लक्ष्मी कोइरीलाई ५ वर्ष कैद सजाय फैसला भएको छ । उच्च अदालत जनकपुरले घाइते सशस्त्र प्रहरी थमन विकलाई सांघातिक आक्रमण गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा एमालेका पूर्वसांसद कोइरी महतोलाई ५ वर्ष कैद सजाय तोकेको हो ।
कामू मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले केही आरोपितहरुलाई सफाई दिने भनी जिल्ला अदालतले गरेको फैसला उल्ट्याउँदै कोइरीको हकमा पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । जिल्ला अदालत महोत्तरीले मंसीर, २०८० मा कोइरी सांसद पदमा बहाल रहेका बेला उनी लगायतलाई आरोपबाट सफाई दिएको थियो ।
२५ भदौ २०७२ महोत्तरीमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो, त्यसक्रममा सशस्त्र प्रहरी बलका असई थमन विकलगायत सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर जनकपुर लाने क्रममा महोत्तरीको सनोखडामा अप्ठेरो कच्ची बाटोमा एम्बुलेन्स अघी बढ्न सकेन ।
एम्बुलेन्सलाई मोटरसाइकलमा आएका आन्दोलनकारीहरुले पछ्याइरहेका थिए । एम्बुलेन्स रोकिएपछि उनीहरु त्यहाँबाट निस्केर खेतमा लुक्न गएका थिए । त्यसपछि आन्दोलनकारीहरुले लुकेको ठाँउबाट निकालेर घाइतेहरुलाई सांघातिक आक्रमण गरेका थिए ।
हत्याको आरोपमा पक्राउ परेकाहरुले आक्रमणमा संलग्नहरु रहेको भनी लक्ष्मी महतो लगायतको नाम समेत लिएका थिए । मुद्दा चलेपछि महतो फरार भए, फरार अवस्थामा नै उनी एमालेमा प्रवेश गरे र महोत्तरी–१ बाट २०७९ सालमा सांसद निर्वाचित भए ।
लक्ष्मी महतो कोइरी फरार अवस्थामा नै पटकपटक प्रतिनिधिसभा बैठकमा उपस्थित भएका थिए । उनले राज्यबाट नै संरक्षण पाएकोमा चौतर्फी प्रश्न उठिरहेको थियो । उनी सांसद पदमा रहेकी बेला २८ मंसीर, २०८० मा जिल्ला अदालतले उनीलगायत केहीलाई सफाइ दिएको थियो, त्यसपछि उनी प्रतिनिधिसभामा सहज रुपमा उपस्थित हुन थालेका थिए ।
उच्च अदालत जनकपुरले थमन विकको हत्याको घटनामा प्रदीप साह माझी, सञ्जय कुमार साह, मोहन ठाकुरलाई जन्मकैद हुने जिल्ला अदालतको फैसला नै सदर गरेको छ । जन्मकैदको फैसला भएका आरोपितमध्ये अभिराम शर्मा, धमेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डेको फैसला संशोधन भएर ५/५ वर्षका दरले कैद सजाय भएको छ ।
