काठमाडौँ । पत्रकार दिपेश श्रेष्ठले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिटेन्सले नेपालको अर्थतन्त्रलाई टेवा पुर्याए पनि त्यसका लागि नेपाली परिवारले चुकाइरहेको मानवीय मूल्य अत्यन्तै महँगो रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै रेमिटेन्सको आर्थिक पक्षसँगै विदेशमा ज्यान गुमाइरहेका नेपाली, टुटिरहेका परिवार र अभिभावकविहीन बन्दै गएका बालबालिकाको पीडाप्रति राज्यको ध्यानाकर्षण गराएका हुन्।
श्रेष्ठले केही समयअघि जापानबाट मात्रै १० महिनाको अवधिमा करिब ६७ नेपालीको शव स्वदेश ल्याइएको समाचारले आफूलाई गम्भीर रूपमा मर्माहत बनाएको उल्लेख गरेका छन्। जापान मात्र नभई मलेसिया, खाडी मुलुकलगायत विभिन्न देशबाट दैनिकजसो नेपाली कामदारको शव बाकसमा फर्किने क्रम जारी रहेको भन्दै उनले यसलाई रेमिटेन्सको अँध्यारो पक्षका रूपमा चित्रण गरेका छन्।
उनले हालै पशुपति आर्यघाटमा मलेसियामा आत्महत्या गरेका एक नेपालीको अन्त्येष्टिमा सहभागी हुँदा देखेको दृश्यले आफूलाई निकै भावुक बनाएको पनि उल्लेख गरेका छन्। चार सन्तानका पिता रहेका ती व्यक्तिको शवअगाडि उभिएको कान्छो छोराको अवस्थाले आफूलाई “के रेमिटेन्सको मूल्य यति महँगो हुनुपर्छ?” भन्ने प्रश्न गर्न बाध्य बनाएको उनको भनाइ छ। आर्थिक रूपमा केही परिवार सबल बने पनि भावनात्मक रूपमा धेरै परिवार विखण्डित भएको र धेरै बालबालिका अभिभावकको मायाबाट वञ्चित हुँदै गएको उनले उल्लेख गरेका छन्।
पत्रकार श्रेष्ठले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन प्रभावकारी नीति लागू गर्नुपर्नेमा जोड दिएका छन्। साथै, देशभित्रै पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवालाई आफ्नै परिवारसँग बसेर सम्मानपूर्वक काम गर्न सक्ने वातावरण निर्माण गर्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उनको धारणा छ। रेमिटेन्सको रकम मात्र होइन, त्यसका लागि गुमेका जीवन, टुटेका परिवार र टुहुरा बनेका बालबालिकाको पीडालाई पनि राज्य र समाजले समान रूपमा बुझ्नुपर्ने उनको आग्रह छ।
#shrammantri #Nepalgoverment
