काठमाडौँ । देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक मर्मत तथा प्रतिकूल मौसमका कारण प्रमुख राजमार्गका विभिन्न खण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले बुधबार बिहान ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको, भने केही सडक एकतर्फी सञ्चालनमा आएको जनाएको छ। प्रहरीले वर्षायाममा यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सबैलाई आग्रह गरेको छ।
प्रहरीका अनुसार कोशी प्रदेशका भोजपुर, इलाम र तेह्रथुमका विभिन्न सडकमा पहिरो तथा बाढीका कारण अवरोध भए पनि हाल ती सडक एकतर्फी रूपमा सञ्चालनमा छन्। लुम्बिनी प्रदेशको अर्घाखाँचीस्थित पाणिनी गाउँपालिका–३ दुड्खोला क्षेत्रमा पहिरोले सालझण्डी–ढोरपाटन सडकखण्ड प्रभावित बनेको भए पनि त्यहाँ पनि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा भने केही महत्वपूर्ण सडक अझै पूर्ण रूपमा बन्द रहेका छन्। काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्ड सम्भावित बाढीको जोखिमका कारण बन्द गरिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत कुलखानी–फाखेल–फर्पिङ–काठमाडौं सडकखण्ड सडक मर्मतका कारण यसै महिनाको २५ गतेसम्म पूर्ण रूपमा बन्द रहने प्रहरीले जनाएको छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन जोड्ने मितेरी पुल पनि मर्मतका कारण बन्द छ।
यस्तै, सिन्धुपाल्चोकको बलेफी नगरपालिका–८ महभीर क्षेत्रमा अरनिको राजमार्ग अविरल वर्षापछि पूर्ण रूपमा अवरुद्ध भएको छ भने काभ्रेको रोशी गाउँपालिका–११ अन्तर्गतको बी.पी. राजमार्ग एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। वर्षायाममा थप वर्षा हुने सम्भावना रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न, वैकल्पिक मार्ग प्रयोग गर्न र आवश्यक सतर्कता अपनाउन नेपाल प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।
