ललितपुर । उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। पराजुलीको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उच्च अदालत पाटनले आजका लागि तय भएका सबै इजलास तथा मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
उच्च अदालतले मंगलबार सूचना जारी गर्दै अदालत परिवार शोकमा डुबेकाले आज सञ्चालन हुने सम्पूर्ण इजलासबाट हुने मुद्दाको सुनुवाइ अर्को मितिका लागि सारिएको जनाएको छ। अदालतले यस निर्णयबारे कानुन व्यवसायी, सेवाग्राही तथा सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदै असुविधाप्रति क्षमायाचनासमेत गरेको छ।
अदालतले जारी गरेको सूचनामा स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। लामो समयदेखि न्याय प्रशासनमा कार्यरत पराजुलीले अदालतको प्रशासनिक व्यवस्थापन र न्याय सम्पादन प्रक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै अदालतका कर्मचारी तथा कानुन व्यवसायीहरूले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन्।
पराजुलीको निधनको कारणबारे अदालतले औपचारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। यसैबीच, स्थगित भएका मुद्दाहरूको नयाँ सुनुवाइ मिति सम्बन्धित इजलासबाट पछि तोकिने अदालतले जनाएको छ।

