काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गृह मन्त्रालयले हालै गरेको कर्मचारी सरुवापछि त्यसको औचित्य, पारदर्शिता र मापदण्डबारे विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपय कर्मचारीले सरुवालाई अन्यायपूर्ण भनेका छन् भने सरकारले सुशासन कायम गर्ने उद्देश्यले सरुवा गरिएको बताउँदै आएको छ।
यही क्रममा गृह मन्त्रालयको सरुवापछि पशुपति पोखरेल मुस्ताङको इलाका प्रशासन कार्यालय लोमान्थाङ मा कार्यरत छन्। खोटाङ स्थायी घर भएका पोखरेल यसअघि दुर्गम क्षेत्रमा करिब नौ वर्ष सेवा गरेर काठमाडौंमा पाँच वर्ष कार्यरत थिए।
पोखरेल निजामती सेवामा देखिएका विकृति, राजनीतिक हस्तक्षेप र कर्मचारी सरुवामा हुने अनियमितताविरुद्ध लामो समयदेखि आवाज उठाउँदै आएका कर्मचारीका रूपमा परिचित छन्। उनले दलगत कर्मचारी ट्रेड युनियनको सट्टा एउटै आधिकारिक ट्रेड युनियनको अवधारणा अघि सार्दै प्रशासनिक सुधारको पक्षमा अभियान सञ्चालन गरेका थिए। विभिन्न समयमा उनले शान्तिपूर्ण प्रदर्शन तथा धर्नामार्फत आफ्ना माग सार्वजनिक गरेका थिए।
सरुवापछि भने पोखरेलले त्यसलाई अवसरका रूपमा लिँदै मुस्ताङ तथा म्याग्दीका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा सक्रियता बढाएका छन्। सामाजिक सञ्जालमार्फत उनले विभिन्न धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भिडियो र तस्बिर सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्।
हालसम्म उनले बेनी, तातोपानी, रुप्से झरना, मार्फा, जोमसोम, मुक्तिनाथ मन्दिर, कागबेनी, लोमान्थाङ, लोमान्थाङ दरबार तथा कोरला नाका लगायतका क्षेत्रको भ्रमण गरिसकेका छन्। साथै तिलिचो ताल, धौलागिरी हिमाल, निलगिरि हिमाल, ढोरपाटन, उपल्लो डोल्पा तथा दामोदर कुण्ड जस्ता गन्तव्यहरूको पनि प्रवर्द्धन गरिरहेका छन्।
उनले सामाजिक सञ्जालमा “नेपाल स्वर्गको टुक्रा हो” भन्दै देशभित्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको भ्रमण गर्न सबैलाई प्रेरित गर्दै आएका छन्। “जीवन यात्रा हो, रोजाइ पर्यटन हुनुपर्छ” भन्ने सन्देशमार्फत उनले पर्यटनलाई आर्थिक समृद्धिको आधारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।
पोखरेलका अनुसार कर्मचारीले सरकारी सेवा प्रभावकारी रूपमा प्रवाह गर्नुका साथै आफ्नो कार्यक्षेत्रको पर्यटन, संस्कृति र स्थानीय सम्भावनाको प्रचार–प्रसारमा समेत योगदान दिन सक्ने अवस्था रहेको छ। उनले भविष्यमा यस्ता सिर्जनात्मक कार्यमा सक्रिय कर्मचारीलाई सरकारले प्रोत्साहन गर्ने नीति लिनुपर्ने धारणा पनि सार्वजनिक गर्दै आएका छन्।
सरुवाप्रति असन्तुष्टि व्यक्त गर्ने क्रमबीच पोखरेलले भने त्यसलाई अवसरमा रूपान्तरण गर्दै कार्यक्षेत्रमै पर्यटन प्रवर्द्धनलाई आफ्नो अभियान बनाएको देखिन्छ।
