काठमाडौं। प्रतिनिधि सभाका सभामुखले सांसदहरूलाई जनताको विश्वास र अपेक्षाअनुसार जिम्मेवार, अनुशासित र अध्ययनशील भएर काम गर्न आग्रह गरेका छन्।
प्रतिनिधि सभाका सदस्यहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुखले यो कार्यक्रम सिकाउने–सिक्नेभन्दा पनि अनुभव आदानप्रदान गर्ने अवसर भएको बताए। सांसदहरू आफैं सक्षम र जनताको विश्वासबाट निर्वाचित प्रतिनिधि भएकाले संसदीय अभ्यासलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो।
सभामुखले प्रतिनिधि सभा करिब ३ करोड नेपालीको प्रतिनिधित्व गर्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले कानुन निर्माण, संविधान कार्यान्वयन तथा नागरिकको हितमा काम गर्ने जिम्मेवारी सांसदहरूमा रहेको उल्लेख गरे। उनले संसद् सचिवालयको अनुभव, विगतका सफल अभ्यास र आधुनिक प्रविधिको उपयोगमार्फत संसदीय कामलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
उनले सांसदहरूको बोली, व्यवहार, पहिरन, कार्यशैली तथा सार्वजनिक जीवनका हरेक गतिविधिलाई स्वदेश तथा विदेशमा रहेका नेपाली मात्र होइन, अन्तर्राष्ट्रिय समुदायले समेत नजिकबाट नियालिरहेको उल्लेख गर्दै सांसदहरूले आत्मसमीक्षा गर्दै आफ्नो भूमिका थप जिम्मेवार बनाउनुपर्ने बताए।
सभामुखले कानुन निर्माणको गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्दै नेपालले बनाउने कानुनप्रति अन्तर्राष्ट्रिय समुदायको समेत चासो रहने भएकाले अध्ययनशील, विषयकेन्द्रित र उत्तरदायी भएर काम गर्न सांसदहरूलाई सुझाव दिए।
अभिमुखीकरण कार्यक्रममा अपेक्षाअनुसार उपस्थिति नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उनले समयपालन र अनुशासनलाई सांसदको पहिलो जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। कार्यक्रमको सूचना धेरैअघि नै जारी गरिएको स्मरण गराउँदै उनले आगामी दिनमा यस्ता कार्यक्रममा समयमै उपस्थित हुन आग्रह गरे।
सभामुखले सांसदहरूलाई खुला रूपमा आफ्ना धारणा राख्न, प्रश्न गर्न र कमजोरीबारे स्पष्ट छलफल गर्न आग्रह गर्दै “सबैलाई मीठो मात्र बोल्ने संस्कृतिभन्दा आवश्यक पर्दा सत्य कुरा बोल्ने साहस हुनुपर्छ,” भने।
उनले प्रतिनिधि सभा सदस्य हुनुअघिको व्यक्तिगत जीवन र सार्वजनिक जीवनबीच ठूलो अन्तर रहेको उल्लेख गर्दै जनप्रतिनिधिका रूपमा हरेक गतिविधि जनताले निरन्तर मूल्याङ्कन गरिरहेको बताए। संसद् सचिवालय, सरकार वा राजनीतिक दलभन्दा अन्तिम मूल्याङ्कन जनताले गर्ने भएकाले जनताको विश्वास जित्ने गरी काम गर्नुपर्नेमा उनले जोड दिए।
सभामुखले अभिमुखीकरण कार्यक्रमबाट सांसदहरूको प्रस्तुति, संसदीय सहभागिता, कानुन निर्माण प्रक्रिया तथा समग्र संसदीय अभ्यासमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सबै सदस्यलाई सक्रिय र पूर्ण ध्यानका साथ सहभागी हुन आग्रह गरे।
