भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ७:४५ बजे उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भातेढिकुरमा बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए।
कुटपिटबाट गम्भीर घाइते भएकी चौधरीलाई तत्काल सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल लगिएको थियो। उपचारकै क्रममा शुक्रबार राति करिब ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनामा संलग्न रहेको आरोपमा मृतकका छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
