नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु १ क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई अनियन्त्रित हुँदा सडकको बायाँ किनारामा रहेको भित्तामा ठोक्किएको थियो।
दुर्घटनामा क्रेन चालक पाल्पाको तानसेन नगरपालिका स्थायी घर भई हाल मध्यविन्दु नगरपालिका–११ बस्दै आएका २५ वर्षीय निरज अस्रामी मगर घाइते भएका छन्। साथै क्रेनमा सवार मध्यविन्दु–११ निवासी ६० वर्षीय दिलबहादुर कुमाल, २७ वर्षीय निर्मल दराई, ५२ वर्षीय पूर्णप्रसाद दराई, ५३ वर्षीय अर्जुनबहादुर दराई र ५० वर्षीय अमर दराई पनि घाइते भएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
दुर्घटनामा क्रेनमा क्षति पुगेको छ भने दुर्घटनाग्रस्त सवारीसाधन घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
