चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डमा निर्माणाधीन चार पुल आगामी असारभित्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। पुलहरूको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको र बाँकी सामान्य कामहरू अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
नागढुङ्गा–मुग्लिङ सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चरौँदी खोला, गोमती खोला र हुग्दी खोलामा निर्माणाधीन पुलहरू असारभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
उनका अनुसार केही पुलमा सडकसँग जोड्ने पहुँचमार्ग निर्माणको काम बाँकी छ भने प्लास्टर, रङरोगन, ट्राफिक सुरक्षा सामग्री जडानलगायतका सामान्य कामहरू सम्पन्न गर्नुपर्ने अवस्था रहेको छ।
“समग्रमा पुल निर्माणको ९० प्रतिशतभन्दा बढी काम सकिएको छ। हामी असारभित्रै ती पुल सञ्चालनमा ल्याउने तयारीमा छौँ,” मिश्रले भने।
यसैबीच, सोही सडकखण्डअन्तर्गत हुग्दी र चरौँदी खोलाका अन्य निर्माणाधीन पुलहरूको काम पनि जारी रहेको छ। हुग्दी पुलको करिब ३० प्रतिशत र चरौँदी पुलको ५० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। हाल ती पुलहरूमा फाउन्डेसन र पिल्लर निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ।
सडक स्तरोन्नतिको काम भने अलकत्रा (बिटुमिन) अभावका कारण केही समय प्रभावित भएको थियो। मिश्रका अनुसार निर्माण कम्पनीले एक–दुई दिनभित्र अलकत्रा आइपुग्ने जानकारी दिएको छ, जसपछि कालोपत्रको काम पुनः सुरु गरिनेछ।
हाल करिब दुई किलोमिटर सडकमा सबबेस राखिसकिएको छ। अब बेस तह निर्माण गरी कालोपत्र गर्ने तयारी भइरहेको छ। यससँगै थप क्षेत्रमा पनि कालोपत्रका लागि पूर्वतयारीका काम अगाडि बढाइने आयोजनाले जनाएको छ।
मिश्रका अनुसार ढल निर्माण, रेलिङ जडान तथा अन्य सहायक संरचना निर्माणका काम भने निरन्तर जारी छन्। हालसम्म सडक स्तरोन्नतिको समग्र प्रगति ४३ प्रतिशत पुगेको छ।
कुल ३८.८६ किलोमिटर लम्बाइ रहेको यस सडकखण्डमा २.२ किलोमिटर सडक छ लेन, ७.२ किलोमिटर सडक चार लेन तथा उकालो–ओरालो क्षेत्रमा २.३ किलोमिटर ‘क्लाइम्बिङ लेन’ निर्माण गरिनेछ। बाँकी सडक दुई लेनको हुनेछ।
मलेखु, बेनीघाट र मुग्लिङ क्षेत्रमा छ लेन सडक निर्माण हुने भएको छ भने रमाइलोडाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा चार लेन सडक निर्माण गरिनेछ।
निर्माण कम्पनीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा सडक स्तरोन्नतिको ठेक्का लिएको छ। हाल विभिन्न स्थानमा कालोपत्र, नाला निर्माण, पहिरो नियन्त्रण संरचना, भित्तो कटान, पर्खाल निर्माण, सडक सुरक्षा व्यवस्थापन तथा पुल निर्माणका कामहरू बाँकी रहेका छन्।
विश्व बैंकको सहयोगमा निर्माण भइरहेको यो सडकखण्ड काठमाडौं प्रवेश तथा बाहिरिने प्रमुख मार्गका रूपमा रहेको छ। निर्माण कार्य सम्पन्न गर्ने प्रारम्भिक म्याद गत डिसेम्बर २८ मा सकिएपछि १८३ दिन थप गरिएको थियो भने थप म्यादका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाले जनाएको छ।
