मलङ्गवा । सर्लाहीमा डिउटीमा खटिएका प्रहरी कर्मचारीमाथि हातपात गरी दुर्घटनामा संलग्न ट्याक्टर लिएर फरार भएको घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी कारबाहीमा बाधा पुर्याएको र हुलहुज्जत गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार जेठ २५ गते राती अन्दाजी ९ बजेको समयमा कविलासी नगरपालिका वडा नम्बर ८ अगर्वास्थित मलङ्गवा सडक खण्डमा ना ६ ख ७६२३ नम्बरको ट्रक पार्किङ गरेर राखिएको थियो। उक्त गुडिरहेको ट्रकलाई ज १ त २५५० नम्बरको ट्याक्टरले ठक्कर दिएको खबर पाएपछि स्थानीय प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटना लगत्तै थप अनुसन्धान तथा संलग्न व्यक्तिहरूको खोजीका लागि इलाका प्रहरी कार्यालय हरिपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट विशेष प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले खोजतलास गर्ने क्रममा प्रहरीमाथि तत्काल बाधा विरोध तथा हुलहुज्जत गर्ने कार्यमा संलग्न कविलासी नगरपालिका वडा नम्बर १० सलेम्पुर बस्ने १९ वर्षीय विक्रम कुमार यादव र सोही ठाउँका २१ वर्षीय प्रियांसु यादवलाई पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई जेठ २६ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा पेस गरी अभद्र व्यवहार मुद्दामा आठ दिनको म्याद थप गरिएको छ। उनीहरूलाई हिरासतमा राखी जिल्ला प्रहरी कार्यालय सर्लाही मलङ्गवामा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाका मुख्य योजनाकार एवं ट्याक्टर धनी अशोक कुमार यादव र प्रहरीमाथि हातपात गर्ने अन्य फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको छ।
