धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा फेला परेको एक युवकको शव हत्या गरिएको अवस्थामा रहेको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको छ भने अन्य दुई जनाको खोजी भइरहेको जनाएको छ।
जेठ २४ गते मोहना नदी किनारमा नाम, थर र ठेगाना नखुलेको अवस्थामा एक युवकको शव फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा उक्त शव कैलारी गाउँपालिका–९ गदरियाका २० वर्षीय राजकुमार रानाको रहेको पहिचान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार अनुसन्धानबाट राजकुमारको मृत्यु स्वाभाविक नभई कुटपिटपछि हत्या गरिएको तथ्य खुलेको हो। घटनामा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु रानासहित चार जना संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
प्रहरीको भनाइअनुसार आरोपितहरूले राजकुमारलाई कुटपिट गरी हत्या गरेपछि घटनाको प्रमाण लुकाउने उद्देश्यले शव मोहना नदी किनारमा फालेर फरार भएका थिए।
हत्यामा संलग्न रहेको आरोपमा बम्मन राना र भँगु रानालाई पक्राउ गरी उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिएर दुवैलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न अन्य दुई जना भने फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको बताएको छ।
