काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट हुने चरित्र हत्या, अपमानजनक प्रचार र साइबर दुर्व्यवहारका घटनाप्रति गृह मन्त्रालय गम्भीर र संवेदनशील रूपमा प्रस्तुत हुने बताएका छन्।
मंगलबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री गुरुङले व्यक्तिगत रूपमा आफूविरुद्ध लगाइने आरोपको सामना गर्न सक्ने भए पनि निर्दोष नागरिकमाथि हुने चरित्र हत्या र मानसिक उत्पीडनलाई राज्यले गम्भीर रूपमा लिने बताएका हुन्।
“ममाथि जेनजी आन्दोलनदेखि नै विभिन्न आरोप लगाइएका छन्, म ती सबै थेग्न सक्छु,” उनले भने, “तर कुनै नागरिकलाई अपमान गर्ने, चरित्र हत्या गर्ने वा मानसिक रूपमा यति धेरै दबाब सिर्जना गर्ने काम हुन्छ कि उनीहरू आत्महत्या गर्न बाध्य हुन्छन् भने त्यसलाई गृह मन्त्रालयले अत्यन्त गम्भीर रूपमा लिनेछ।”
गृहमन्त्री गुरुङले विशेषगरी महिलाहरू र युवतीहरूलाई लक्षित गरेर सामाजिक सञ्जालमा हुने बदनाम गर्ने प्रवृत्ति, अफवाह फैलाउने गतिविधि तथा चरित्रहत्या जस्ता घटनाले गम्भीर सामाजिक असर पारिरहेको उल्लेख गरे। यस्ता गतिविधिका कारण कसैको जीवन नै संकटमा पर्न नहुने भन्दै उनले कानुनी कारबाहीलाई प्रभावकारी बनाइने संकेत दिए।
पदभार ग्रहणपछि उनले मन्त्रालयअन्तर्गतका विभिन्न विवादित तथा छानबिनका क्रममा रहेका फाइलहरूलाई समेत अघि बढाउने बताएका छन्। “धेरै जना खुसी हुनुहुन्छ होला, धेरै जना दुःखी पनि हुनुहुन्छ होला म आएकोमा,” उनले भने, “अब सबै फाइल खुल्छन्।”
गृहमन्त्रीको उक्त अभिव्यक्तिलाई विगतदेखि चर्चामा रहेका विभिन्न अनुसन्धान तथा छानबिनका विषयहरूलाई सक्रिय रूपमा अगाडि बढाउने संकेतका रूपमा हेरिएको छ।
नवनियुक्त गृहमन्त्री गुरुङले आफ्नो कार्यकालमा सुशासन, कानुनी शासन र नागरिकको सम्मान तथा सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
