काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो हावाको लहर (हीट वेभ) चल्ने सम्भावना रहेको जनाएको छ।
विभागका अनुसार सोही अवधिमा कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तातो दिन (हट डे) को अवस्था रहने सम्भावना छ। ती क्षेत्रहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने विभागको अनुमान छ।
अत्यधिक गर्मी तथा तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा बाहिरी वातावरणमा काम गर्ने व्यक्तिहरूलाई सावधानी अपनाउन, प्रशस्त पानी पिउन तथा अत्यावश्यक बाहेक दिउँसोको समयमा घाममा ननिस्कन सुझाव दिएको छ।

