काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक मध्यान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल ले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा सभालाई जानकारी गराउने कार्यसूची रहेको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावमाथि छलफल सुरु हुने र राष्ट्रिय सभाका सदस्यहरूले बजेटका विभिन्न पक्षबारे धारणा राख्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्नुहुने कार्यसूचीमा समावेश छ। उक्त विधेयक विकास आयोजनाका लागि वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी व्यवस्था सुदृढ बनाउने उद्देश्यका साथ अघि बढाइएको बताइएको छ।
