भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती क्षेत्रबाट प्रहरीले गोली, लागूऔषध तथा अन्य शंकास्पद सामग्रीसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार साँझ करिब ५ः५० बजे प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका सूर्यविनायक नगरपालिका–८ सिपाडोल निवासी २३ वर्षीय निरज खत्रीलाई नियन्त्रणमा लिई सोधपुछ तथा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा खत्रीको साथबाट ७.६२ एमएम एसएलआर राइफलमा प्रयोग हुने २ राउण्ड गोली, ट्रामाडोल ५० एमजीका २३० ट्याब्लेट, विभिन्न कम्पनीका ६ थान मोबाइल फोन, १ थान खुकुरी तथा नगद ८५० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएका गोली र लागूऔषधको स्रोत तथा प्रयोगको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका खत्रीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी वृत्त जगातीको हिरासतमा राखिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको र बरामद सामग्रीको प्रकृति तथा सम्भावित संलग्नताबारे विस्तृत अनुसन्धानपछि थप तथ्य सार्वजनिक गरिने जानकारी दिएका छन्।
प्रहरीले पछिल्लो समय लागूऔषध तथा अवैध हतियारसँग सम्बन्धित गतिविधि नियन्त्रणका लागि निगरानी तथा सुरक्षा जाँचलाई थप कडा बनाइएको जनाएको छ।
