काठमाडौं । भारतस्थित नेपाली राजदूतावास, नयाँ दिल्लीले सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपाली नागरिकमाथि श्रम शोषण तथा ठगी भइरहेको सूचनापछि उद्धार तथा समन्वय कार्य सम्पन्न भएको जनाएको छ। राजदूतावासले उत्तर प्रदेश प्रहरी, भारत सरकारका सम्बन्धित निकाय तथा गैरसरकारी संस्था KIN India सँगको सहकार्यमा उद्धार अभियान सञ्चालन गरेको जनाएको हो।
राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारबाहीका क्रममा सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ४५३ नेपाली नागरिकलाई उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११५ जना महिला र ३३८ जना पुरुष रहेका छन्। उनीहरूलाई २०८३ जेठ १६ गते जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको जनाइएको छ।
उद्धार अभियानपछि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले घटनासँग सम्बन्धित थप अनुसन्धान अघि बढाएको छ। यस क्रममा ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
राजदूतावासले उद्धार कार्य सफल बनाउन सहयोग पुर्याउने उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी तथा KIN India लगायत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सबै निकायप्रति आभार व्यक्त गरेको छ। यस्ता कार्यमा अन्तरदेशीय समन्वयको महत्त्वपूर्ण भूमिका रहेको पनि राजदूतावासले जनाएको छ।
साथै नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणप्रति प्रतिबद्ध रहेको दोहोर्याउँदै वैदेशिक रोजगारी वा अन्य अवसरका नाममा गरिने प्रलोभनप्रति सचेत रहन सबै नेपाली नागरिकलाई आग्रह गरेका छन्।
