खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २७ वर्षीया रेश्मिका परियारको हत्या प्रकरणमा प्रहरीले नौ महिनापछि थप तीन जनालाई पक्राउ गरेको छ ।
गत वर्ष भदौ ३० गते राति मृत अवस्थामा फेला परेकी रेश्मिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएपछि घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र बतासेकै दीपक राईलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार उच्च अदालत ओखलढुङ्गाको आदेशपछि घटनाको थप अनुसन्धानका लागि मंगलबार तीन जनालाई पक्राउ गरिएको हो ।
यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय १६ वर्षीय एक किशोरलाई गत असोज १ गते पक्राउ गरेको थियो । जिल्ला अदालत खोटाङको आदेशपछि उनलाई पुर्पक्षका लागि कारागार पठाइएको छ ।
घटनामा अन्य व्यक्तिको संलग्नता नरहेको भन्दै प्रहरीले परिवारले दिएको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गर्दै आएको थियो । तर, रेश्मिकामाथि सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै परिवार, दलित अधिकारकर्मी तथा स्थानीयले दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाउँदै चरणबद्ध आन्दोलन गरेका थिए ।
एक किशोरले मात्रै यस्तो जघन्य अपराध गर्न नसक्ने भन्दै परिवारले गत चैत २१ गते उच्च अदालत ओखलढुङ्गामा थप तीन जनाको नाम उल्लेख गर्दै किटानी जाहेरी दर्ता गराएका थिए । सोही आधारमा अदालतले चैत २८ गते जिल्ला प्रहरी कार्यालय खोटाङलाई घटनाबारे थप अनुसन्धान गर्न आदेश दिएको थियो । घटनाको पुनः अनुसन्धान सुरु भएसँगै रेश्मिकाका परिवारले वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
