कृष्ण कुँवर। रा.प्र.पा.की समानुपातिक सांसद खुश्बु ओलीले इसाई समुदायले गरिबी र पछौटेपनको फाइदा उठाउँदै धर्मान्तरण गरिरहेको भनाई प्रति नेपाली इसाईहरूले तीव्र आलोचना गरेका छन्।
ओलीले जेठ १२ गते संसद्मा बोल्दै धर्मनिरपेक्षताको नाममा धर्मान्तरण बढिरहेको र पश्चिमी प्रभावका कारण नेपालमा शून्य सङ्ख्यामा रहेका इसाई समुदायको जनसङ्ख्या वृद्धि भएको, तर यस विषयमा सरकारले बेवास्ता गरेको बताएकी थिइन्।
संविधान संशोधनको सन्दर्भ उल्लेख गर्दै ओलीले अन्तिम मस्यौदासम्म राजसंस्था र हिन्दू राष्ट्रको विषय समेटिनुपर्ने अन्यथा, सनातन धर्मावलम्बीहरूले “अन्तिम लडाइँ” लड्ने चेतावनी दिएकी थिईन्।
ओलीको अभिव्यक्तिप्रति नेपाली इसाई समुदायको आपत्ति:-
नेपाली इसाई समुदायका धेरै अगुवाहरूले गरिबी र पछौटेपनको फाइदा उठाएर कसैलाई प्रलोभन वा दबाबमार्फत धर्म परिवर्तन नगराईएको दाबी गर्दै उनको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन्। प्रभु येशूमा विश्वास र आशा राख्नेहरूले स्वेच्छाले आस्था अपनाएको उनीहरूको भनाई छ।
सांसद खुश्बु ओलीले शान्तसँग बसेको समाजमा धर्मको नाममा शान्ति भङ्ग हुने, धार्मिक हिंसा भड्काउने जस्तो अभिव्यक्ति दिएको आरोप समेत लगाएका छन्। उक्त अभिव्यक्तिपछि इसाई समुदायका व्यक्तिहरूले सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना गरेका छन्।
नेपालको संविधान २०७२ को धारा २६ (धार्मिक स्वतन्त्रताको हक) अनुसार प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास तथा संरक्षण गर्ने स्वतन्त्रता रहेको उल्लेख छ। साथै, प्रत्येक धार्मिक समुदायलाई धार्मिक स्थल तथा गुठी सञ्चालन र संरक्षण गर्ने अधिकार सुनिश्चित गरिएको छ।
