काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले आज युरोपेली सङ्घ (इयू) मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा कूटनीतिक मिसन प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे तय गरिएको उक्त भेटलाई नेपाल–इयू सम्बन्धलाई थप सक्रिय र परिणाममुखी बनाउने प्रयासका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्ताका क्रममा नेपालको वर्तमान राजनीतिक, आर्थिक तथा विकास प्राथमिकताबारे जानकारी गराइनेछ। साथै नेपाल र इयू सदस्य राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास साझेदारी विस्तार गर्ने तथा लगानी, पूर्वाधार, सुशासन, शिक्षा, ऊर्जा, जलवायु परिवर्तन र पर्यटन प्रवर्द्धनलगायतका विषयमा विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
भेटमा नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्दै आर्थिक सुधार, रोजगारी सिर्जना, हरित विकास तथा दिगो पूर्वाधार निर्माणमा अघि बढ्न चाहेको सन्देश पनि प्रवाह गरिने बताइएको छ। सरकारले वैदेशिक लगानी आकर्षित गर्ने, विकास साझेदारसँग समन्वय बढाउने तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित र प्रभावकारी बनाउने नीति अवलम्बन गरिरहेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्री शाहले पछिल्लो समय कूटनीतिक सक्रियता बढाउँदै विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय साझेदार तथा विकास सहयोग निकायसँग नियमित संवादलाई प्राथमिकता दिँदै आएका छन्। यसअघि गत चैत २५ गते पनि उनले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए। उक्त भेटमा समेत नेपालको विकास, सुशासन, लगानी वातावरण तथा अन्तर्राष्ट्रिय सहकार्यका विविध आयाममा छलफल भएको थियो।
आजको संवादले नेपाल र युरोपेली सङ्घ आबद्ध राष्ट्रहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै आगामी दिनमा व्यापार, प्रविधि हस्तान्तरण, शिक्षा आदानप्रदान तथा जलवायु अनुकूल विकासका क्षेत्रमा थप सहकार्यका सम्भावना खुल्ने अपेक्षा गरिएको छ।
