भक्तपुर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेज लाई प्रयोगमा रहेको जग्गा तथा भवन खाली गर्न पत्राचार गरेको छ।
प्रतिष्ठानका सहायक डिन प्रा. डा. विकास विक्रम सिंह अधिकारीद्वारा जारी पत्रमा वीर अस्पताल दुवाकोटका नाममा रहेको जग्गामा प्रतिष्ठानले आफ्नै भौतिक संरचना निर्माण गर्ने तयारी गरिरहेको उल्लेख गरिएको छ। सोही कारणले हाल उक्त स्थानमा सञ्चालनमा रहेको नेपाल इन्जिनियरिङ कलेजको भवन तथा जग्गा खाली गरिदिन अनुरोध गरिएको हो।
पत्रअनुसार प्रतिष्ठान कर्मचारी परिषद्को निर्णय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन तथा विभिन्न पत्राचारका आधारमा उक्त जग्गा सरकारी प्रयोजनका लागि आवश्यक रहेको जनाएको छ।
साथै “Construction of Boundary Wall of NAMS, Bir Hospital Duwakot” सम्बन्धी कार्यसमेत अघि बढिरहेको उल्लेख गरिएको छ। प्रतिष्ठानले कलेज प्रशासनलाई शीघ्र रूपमा जग्गा खाली गरी सहयोग गर्न आग्रह गरेको छ।
