काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि नेपालका लागि युरोपेली सङ्घ (इयू)मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने उक्त सामूहिक भेट तथा संवाद कार्यक्रममा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको सुदृढीकरण तथा आपसी सहकार्यका विविध विषयमा छलफल हुने जनाइएको छ।
भेटवार्ताका क्रममा नेपाल र इयू सदस्य राष्ट्रबीचको कूटनीतिक सम्बन्ध, विकास साझेदारी तथा आपसी हितका विषयमा विचार आदानप्रदान गरिने अपेक्षा गरिएको छ।
यसअघि गत वर्ष चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गर्नुभएको थियो।
