भक्तपुर। भक्तपुर प्रहरीले एक युवकलाई राउण्ड गोली र लागू औषधसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेको प्रेस विज्ञप्तिअनुसार विशेष सूचनाको आधारमा प्रहरीले भक्तपुर नगरपालिका–२ व्यासी क्षेत्रमा खोजतलास गरेको थियो।
प्रहरी टोलीले शुक्रबार दिउँसो करिब १ः५५ बजे व्यासीस्थित क्षेत्रमा बस्ने २० वर्षीय सुमित त्यातको साथबाट ३०३ राइफलको एक थान राउण्ड गोली बरामद गरेको जनाएको छ। साथै उनको साथबाट लागू औषध ट्रामाडोल १ पत्ता अर्थात् १० चक्की समेत फेला परेको प्रहरीले उल्लेख गरेको छ।
बरामद गरिएको गोली र लागू औषधसहित सुमित त्यातलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले घटनाबारे जानकारी दिँदै अवैध हातहतियार तथा लागू औषध नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइने बताए।
