आशिर्वाद राज झा, ललितपुर । नेपालका घना जङ्गलमा विचरण गर्ने जरायो (Sambar deer – Rusa unicolor) लाई एसियाकै सबैभन्दा ठूलो हरिण प्रजाति मध्ये एक मानिन्छ। विशाल शरीर, बलिया खुट्टा र शक्तिशाली स्वरका कारण परिचित जरायो नेपालको वन्यजन्तु सम्पदाको एक महत्वपूर्ण हिस्सा हो। तराई देखि पहाडसम्मका वन क्षेत्रमा पाइने यो जनावर अहिले वासस्थान विनाश, अवैध शिकार तथा मानव अतिक्रमणका कारण चुनौतीमा पर्दै गएको छ।
वन विज्ञान अध्ययन संस्थान काठमाडौँ का स्नातक तहका विधार्थी प्रिन्स पाण्डेले जानकारी दिनुभयो,”हरिण परिवारको सदस्य भए पनि जरायो आकार, बनोट र शक्तिका हिसाबले अन्य हरिणभन्दा निकै भिन्न छ। पूर्ण वयस्क भाले जरायोको तौल सामान्यतः १५० देखि ३०० किलोग्राम सम्म हुन्छ भने काँधसम्मको उचाइ १२० देखि १५० सेन्टिमिटर पुग्न सक्छ। यसको शरीरको लम्बाइ १.६ देखि २.७ मिटरसम्म हुने गर्छ। भाले जरायोको टाउकोमा शाखादार र आकर्षक सिङ हुन्छ, जुन प्रत्येक वर्ष झर्ने र फेरि उम्रने गर्छ। पोथीमा भने सिङ हुँदैन।”
जरायोको छाला सामान्यतः गाढा खैरो वा कफी रङको हुन्छ भने पेटको भाग केही फिक्का देखिन्छ। बच्चा जरायोको शरीरमा सेता दाग हुन्छन्, जुन उमेर बढ्दै जाँदा हराउँदै जान्छन्। बलिया खुट्टा र ठूलो शरीरका कारण यो उबडखाबड जङ्गली भूभागमा समेत तीव्र गतिमा दौडिन सक्षम हुन्छ।
प्रजननका हिसाबले जरायोको गर्भावधि करिब सातदेखि आठ महिना हुन्छ। पोथीले सामान्यतः एउटा मात्र बच्चा जन्माउँछ। बच्चा जन्मिएको केही घण्टामै उठ्न र हिँड्न सक्ने हुन्छ। प्राकृतिक वातावरणमा जरायोको औसत आयु १२ देखि २० वर्षसम्म रहने पाण्डेले बताउनुभयो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (IUCN) को रातो सूची अनुसार जरायोलाई “सङ्कटापन्न” श्रेणीमा राखिएको छ। विश्वभरि यसको संख्या घट्दै गइरहेको भए पनि नेपालमा संरक्षण प्रयासका कारण यसको अवस्था तुलनात्मक रूपमा सन्तोषजनक मानिन्छ।
नेपालका चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, कञ्चनजङ्घा संरक्षण क्षेत्र, अन्नपूर्णा संरक्षण क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जमा जरायो पाइन्छ। विशेषगरी चितवन र बर्दियामा यसको सघन उपस्थिति देखिन्छ।
पाण्डेले भन्नुभयो,”जरायो तृणभक्षी जनावर हो। यसले घाँस, पात, झारपात, फलफूल, फूल, बोक्रा तथा जलीय वनस्पति खाने गर्छ। बिहान र साँझको समयमा खाना खोज्न बढी सक्रिय रहने जरायो पानीमा पस्न वा पौडिन पनि निकै रुचाउँछ। जलीय वनस्पति खानका लागि यो प्रायः नदी, ताल तथा सिमसार क्षेत्रमा देखिने गर्छ।”
वन्यजन्तु अनुसन्धानअनुसार जरायो बाघ र चितुवाको मुख्य शिकार प्रजाति हो। चितवन र बर्दियाका बाघहरूको आहारमा जरायोको ठूलो हिस्सा रहने गरेको पाइन्छ। ठूलो शरीर भएका कारण एउटा वयस्क जरायोको सिकारबाट बाघले धेरै दिनसम्म खाना पाउन सक्छ। जङ्गली कुकुर (ढोले) र गोहीले पनि जरायोलाई सिकार गर्ने गर्छन्।
जरायोको सबैभन्दा रोचक पक्ष यसको विशाल आकार र आवाज हो। साथी खोज्ने मौसममा भाले जरायोले निकै ठूलो स्वर निकाल्छ, जुन घना जङ्गलमा टाढासम्म सुनिन्छ। खतरा महसुस गर्दा यसले सिट्टीजस्तो चेतावनीपूर्ण आवाज निकालेर अन्य जरायोलाई सतर्क गराउने गर्छ।
वनको पारिस्थितिक प्रणालीमा जरायोको भूमिका अत्यन्त महत्वपूर्ण मानिन्छ। यसले वनस्पतिको नियन्त्रण गर्नुका साथै बाघ, चितुवा जस्ता माथिल्लो तहका शिकारी जनावरहरूको जीवनचक्रलाई टिकाइराख्न सहयोग पुर्याउँछ। साथै यसको विष्ठाबाट बीउ फैलिने भएकाले वन पुनरुत्थानमा समेत योगदान पुग्ने विज्ञहरू बताउँछन्।
नेपालमा जरायोको संरक्षणका लागि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कडा कानुनी व्यवस्था गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा नेपाली सेना र निकुञ्ज प्रशासनले नियमित गस्ती गरी अवैध शिकार नियन्त्रण गर्ने काम गरिरहेका छन्। सामुदायिक वन उपभोक्ता समूह र स्थानीय बासिन्दाको सहभागिताले पनि संरक्षण अभियानलाई थप बल पुर्याएको छ।
जरायो स्वभावले लजालु र मानवबाट टाढा बस्न रुचाउने जनावर भएकाले अन्य वन्यजन्तुको तुलनामा कृषिमा कम क्षति पुर्याउँछ। यही कारण किसान र जरायोबीचको द्वन्द्व अपेक्षाकृत न्यून देखिन्छ। तर बढ्दो वन फँडानी, मानव बस्ती विस्तार र वासस्थान सङ्कुचनका कारण यसको भविष्य अझै चुनौतीपूर्ण बनेको छ।
वन विज्ञहरूका अनुसार जरायोको संरक्षण गर्नु भनेको नेपालको समग्र जैविक विविधता र बाघ जस्ता दुर्लभ वन्यजन्तुको भविष्य सुरक्षित गर्नु हो। नेपालको जङ्गलको मौन अभिभावकका रूपमा परिचित जरायोको अस्तित्व जोगाउन सरकार, स्थानीय समुदाय र संरक्षणकर्मी सबैको संयुक्त प्रयास आवश्यक रहेको उनीहरू बताउँछन्।
