नुवाकाेट। नुवाकोट गाउँपालिका–५ की सरिता तामाङ मकैबारीमा लागेको बाली जोगाउन बाँदर धपाउन गएकी बेला अचानक बाँदरको आक्रमणमा परेर घाइते भएकी छन्। खेतमा पसेर मकै नष्ट गर्न थालेका बाँदरलाई हटाउने प्रयास गर्दै गर्दा उनीमाथि आक्रमण भएको स्थानीयवासीहरूले बताएका छन्। आक्रमणबाट सरिताको शरीरका विभिन्न भागमा चोट लागेको छ भने उनलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको जनाइएको छ।
यस घटनापछि गाउँभरि त्रास फैलिएको छ। पछिल्ला केही महिनायता गाउँमा बाँदरको आतंक बढ्दै गएको भन्दै किसानहरूले गुनासो गरेका छन्। विशेषगरी मकै, गहुँ तथा तरकारी खेतीमा बाँदरले निरन्तर क्षति पुर्याइरहेको स्थानीय कृषकहरूको भनाइ छ। दिनभर खेतमा निगरानी राख्नुपरेको र बाली जोगाउन ठूलो संघर्ष गर्नुपरेको उनीहरूले बताएका छन्।
स्थानीयवासीहरूका अनुसार जंगल नजिकका बस्तीमा बाँदरको समूह बारम्बार पस्ने गरेको छ, जसका कारण किसानहरू खेतबारीमा जानसमेत डराउन थालेका छन्।
कतिपय किसानले बाली जोगाउन रातदिन खेत कुरेर बस्नुपर्ने अवस्था आएको बताएका छन्। यस घटनापछि स्थानीयले सम्बन्धित निकायसँग बाँदर नियन्त्रण तथा किसानको सुरक्षाका लागि आवश्यक कदम चाल्न माग गरेका छन्।
