काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको उप-प्रमुख पदमा डा. अभिजित गुप्तालाई जिम्मेवारी प्रदान गरेको छ।
उक्त जिम्मेवारी पाएपछि डा. गुप्ताले पार्टी नेतृत्वप्रति हार्दिक आभार व्यक्त गर्दै यसलाई केवल पदका रूपमा नभई राष्ट्र, पार्टी र समग्र डिजिटल भविष्यप्रतिको उत्तरदायित्वका रूपमा लिएको बताएका छन्।
डा. गुप्ताले विज्ञान, प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि तथा प्रभावकारी सञ्चार प्रणालीमार्फत सुशासन, पारदर्शिता र नागरिकमैत्री व्यवस्थाको निर्माणमा सक्रिय योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आधुनिक प्रविधिको उपयोगमार्फत पार्टी तथा राज्य संयन्त्रलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने दिशामा काम गर्ने धारणा राखेका छन्।
उनले आफूलाई विश्वास गरेर जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण पार्टी नेतृत्व, सहकर्मी, शुभेच्छुक तथा साथीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्। सबैको साथ, सुझाव र सहयोगले आगामी यात्रालाई अझ प्रभावकारी र सफल बनाउने विश्वाससमेत उनले व्यक्त गरेका छन्।
देश र नागरिकको हितलाई केन्द्रमा राखेर जिम्मेवारीपूर्ण ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै डा. गुप्ताले विज्ञान, सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर सक्रिय रहने बताएका छन्।
