काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको जारी बैठकमा उनीविरुद्ध परेका उजुरीहरूको विवरण समिति सदस्यहरूलाई वितरण गरिएको छ ।
समिति सभापति बोधनारायण श्रेष्ठ का अनुसार डा. शर्मासम्बन्धी कुल १६ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ११ वटा इमेलमार्फत प्राप्त भएका छन् भने ५ वटा लिखित निवेदनका रूपमा समितिमा पेश गरिएका छन् ।
सभापति श्रेष्ठले आज उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा सँग सुनुवाइ प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । सुनुवाइका क्रममा उजुरीमा उठाइएका विषय, न्यायिक अनुभव, कार्यशैली तथा भावी योजनाबारे समितिले प्रश्न गर्ने तयारी गरेको बताइएको छ ।
गत २४ वैशाखमा बसेको संवैधानिक परिषद को बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
नेपालको संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश नियुक्तिपूर्व संसदीय सुनुवाइ प्रक्रिया अनिवार्य रूपमा पूरा गर्नुपर्ने व्यवस्था छ । समितिबाट अनुमोदन भएपछि मात्र राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी प्रावधान रहेको छ ।
