काठमाडौं । गंगा लक्ष्मी अवाल ले आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै ललितपुरमा सञ्चालन भइरहेको ऐतिहासिक बुँगदेव रातो मच्छिन्द्रनाथ रथयात्रासँग जोडिएको महत्वपूर्ण सम्पदा हराएको विषयलाई गम्भीर रूपमा उठाउनुभएको छ।
उहाँले ललितपुरको नेपाल मण्डल क्षेत्रमा सदियौँदेखि श्रद्धा, आस्था र सांस्कृतिक गौरवका साथ मनाइँदै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा केवल जात्रा मात्र नभई नेपाली सभ्यता, संस्कृति र पहिचानको जीवित प्रतीक भएको उल्लेख गर्नुभयो।
सांसद अवालले मिति २०८३ बैशाख ८ गतेदेखि सुरु भएको पवित्र रथयात्राका क्रममा रथको दायाँ–बायाँ रहने “कलकत्र नाग” को प्रतीक हराएको खबर अत्यन्त दुःखद र चिन्ताजनक भएको बताउनुभयो। करिब ९० किलो तौल रहेको तथा तामामा सुनको जलप लगाइएको बहुमूल्य र ऐतिहासिक महत्व बोकेको उक्त सम्पदाको तत्काल खोजी गरी सत्यतथ्य सार्वजनिक गर्न उहाँले सम्बन्धित निकायसँग माग गर्नुभएको छ।
उहाँले दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसमक्ष आग्रह गर्दै सम्पदाको सुरक्षा र संरक्षणमा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताउनुभयो। सांसद अवालले आगामी असार ३ गते हुने ऐतिहासिक भोटोजात्रामा राष्ट्रका विशिष्ट व्यक्तित्वदेखि हजारौँ श्रद्धालुको सहभागिता रहने भएकाले सांस्कृतिक सम्पदाको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
उहाँले “हाम्रो संस्कृति र सम्पदा केवल विगतको चिनारी होइन, भावी पुस्ताको अमूल्य धरोहर पनि हो” भन्दै सम्पदा संरक्षणमा सबै पक्ष गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
