काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याउने बजेटको आधार तय गर्ने महत्वपूर्ण एजेन्डामाथि छलफल प्रारम्भ हुने भएको छ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्तावबाहेक) सैद्धान्तिक छलफल सुरु गरिने कार्यसूची रहेको छ । यही छलफललाई आगामी बजेट निर्माणको प्रारम्भिक आधारका रूपमा हेरिएको छ । सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका प्राथमिक क्षेत्रबारे सांसदहरूले आफ्नो धारणा राख्नेछन् ।
संघीय संसदको बजेट अधिवेशनअन्तर्गत हुने यस छलफलमा सरकारको आर्थिक नीति, विकास प्राथमिकता, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सामाजिक सुरक्षा तथा संघीयताको कार्यान्वयनलगायत विषयमा सांसदहरूले सुझाव दिने अपेक्षा गरिएको छ ।
यसैगरी, विनियोजन विधेयकमाथिको छलफल सुरु हुनु अघि प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा पेश गरिनेछ । सम्भावित कार्यसूचीअनुसार उक्त प्रस्ताव समिति सभापति गणेश पराजुली ले प्रस्तुत गर्नेछन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न भएपछि सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको अनुभव, आर्थिक चुनौती, राजस्व संकलनको अवस्था तथा विकास निर्माणका आवश्यकतालाई ध्यानमा राख्दै आगामी बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने लक्ष्य लिएको जनाएको छ । विपक्षी दलहरूले भने सरकारको खर्च क्षमता, विकास बजेट कार्यान्वयन र आर्थिक अनुशासनका विषयमा प्रश्न उठाउँदै आएका छन् ।
आजको बैठकलाई आगामी बजेट अधिवेशनको औपचारिक प्रारम्भका रूपमा समेत हेरिएको छ । संसदमा हुने छलफलले सरकारको आर्थिक नीति र प्राथमिकता निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ । File photo
