रन्जिता डंगोल
चेपबहादुरलाई थाहा छ–आफ्नो परम्परागत सीप उपयोगी छ। मकवानपुरको बागमती गाउँपालिका, झुरझुरेका ६६ वर्षीय चेपबहादुर पहरी त्यही सीप प्रयोग गरेर घरायसी सामान बनाउँछन्। बाँसको चोया काढेर बुनेको डोको र बोराको धागोबाट बनेको नाम्लो गाउँघरमा मल बोक्न, मकैका भारी ओसार पसार गर्न काम लाग्छन्। डालो कोदो टिप्न काम लाग्छ भने नाङ्ला अन्न केलाई कुलाई गर्न। माछा मार्ने छपी, असारे झरीमा धान रोप्दा ओढ्ने घुम, गाईबस्तु बाँध्ने नाम्लो सबका सब उपयोगी छन्, ग्रामीण दैनिक जीवनमा। बजारमा पनि यस्ता सामान खोज्नेहरू नभएका होइनन् तर यी सामानले बजार पाएका छ्रैनन्। यस्तो सम्झँदा दु.ख लाग्छ, चेपबहादुरलाई। पहरी समुदायको परम्परागत सीप नै बेत र बाँसका सामान बनाउने हो। डोरी बाट्न, डोका, डाला, नाङ्ला, दाम्ला, नाम्ला, छपी बुन्न उनीहरू बहुत सिपालु छन्। माछा मार्ने र खेतीपाती र बुगुर पालन गर्ने पहरी समुदायमा अर्को पेशाका रूपमा परिचित छ। पहरी समुदायमा अहिले पनि केही मानिस दैनिक गुजारा बेत र बाँससँग खेलेरै चलाइरहेका छन्, यसैलाई पहिलो पेशा मानेर।
नयाँ पुस्तामा भने मावि तहसम्म स्कुल जाने र त्यसपछि पढ्न छोड्ने प्रवृत्ति रहेको पहरी समुदायका जानकार जनक पहरी बताउँछन्। एकातिर गतिलो अवसर नपाउने र अन्य जातिसँग प्रतिस्पर्धा गर्न नसक्ने, अनि अर्कातिर जीविका निर्वाह गर्न पैसा आवश्यक पर्ने भएकाले उनीहरू पढ्न छोड्छन्। त्यसमध्ये कतिपय युवाहरू गाउँमै दैनिक ज्याला मजदुरी, खेतीकिसानीमा लाग्छन् भने कोही सदरमुकाम हेटौंडालगायत अन्ततिर काम गर्न जान्छन्। अरूले जस्तै बिकी पहरीले पनि आफ्नो ज्ञान र सीप उपयोगमा समस्या भएको महसुस गरेका छन्। समुदायका मानिसले यस्ता सामग्रीलाई उपयोगी बनाउनमा ध्यान जानुपर्ने र राज्यले पनि सीपमूलक सामग्रीका लागि अनुदान वा सहयोग गर्नुपर्ने उनी ठान्छन्। युवा पुस्ताहरूले वास्ता नगरेका कारणले पनि परम्परागत सीपलाई व्यावसायिक रूप दिनमा समस्या रहेको उनको अनुभव छ। वेत र बाँसका सामान गाउँघरमा मात्र होइन, अचेल घर सजावटका लागि सहरहरूमा पनि छनोटमा परेको देखिन्छ।
पहरीको पहिचान
रातो र पहेलो अनि सेतो कमेरो माटोले लिपपोत गरिएको राम्रो घर पहरी समुदायको हो। धेरै जस्तोको खरले छाएका घर। घरको पछिल्तिर गाईगोठ, सुँगुर, कुखुरा, परेवा, बाख्राका खोर, तथा अघिल्तिर आँगन र प्रायःजसो घरमा पिँढी। पहरीहरूको इष्ट देव हुन्– भीमसेन।मकवानपुरको बागमती गाउँपालिका केही वडाहरूमा पहरीहरूको बाक्लो बस्ती रहेको छ। कतै कतै एकादुई घर देखिन्छन्। जहाँ पहरी जातिको सामाजिक, सांस्कृतिक र भाषाको संरक्षण भएकोे पाइन्छ। बडिखेलबाट बागमतीको खोलाको किनार हँुदै मकवानपुरको राईगाउँ, फापरबारी हुँदै बारा, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लामा पहरीहरूको बसोबास रहेको पहरी विषयमा शोध गरेका रामबहादुर थापा बताउँछन्।पहरी जातिको मौलिक मातृभाषाको प्रयोग नयाँ पुस्तामा छैन।
पहरी जातिको उत्पत्ति र नामका सम्बन्धमा कुनै ठोस प्रमाणहरू नभए तापनि जानकारहरूले बडिखेललाई नै उत्पत्तिको थलो मानेको पाइन्छ। केहीले दैलेखलाईमानेको पाइन्छ। भक्तपुरको तलेजु भैरवस्थाको शिलालेखलाई पनि उत्पत्तिको थलो मान्ने पनि छन्। नेवार समुदायबाट कुनै समयमा पतन भएर पहरी हुन गएको भन्ने उल्लेख भएकाले यिनीहरूको मूलपूर्खा नेवारलाई नै मान्नेहरूको तर्क छ। बुढापाकाहरूको भनाइअनुसार पहरीहरू पहिले नेवार नै थिए। बाहिरबाट मानिस आएर बस्न थालेपछि विपन्न नेवारहरू सहर छोडी पहाडतिर लागे। पहाडमा उनीहरूको सम्पर्क तामाङसँग भयो र तिनै तामाङ र नेवारबाट जन्मेका जातिलाई पहरी भन्न थालियो। यस्ता अभिव्यक्ति र शिलालेखमा वर्णित तथ्यमा संगति देखिएको हुँदा पहरीहरू नेवारै बनेको एउटा जात भएको विश्वास गरिन्छ। भाषामा पनि उनीहरू नेवारसँग झन्डैझन्डै मिल्दाजुल्दा छन्।
पहरी जातिको उत्पत्ति र नामका सम्बन्धमा कुनै ठोस प्रमाणहरू नभए तापनि जानकारहरूले ललितपुरको बडिखेललाई नै उत्पत्तिको थलो मानेको पाइन्छ। केहीले दैलेखलाईमानेको पाइन्छ। भक्तपुरको तलेजु भैरवस्थाको शिलालेखलाई पनि उत्पत्तिको थलो मान्ने पनि छन्।
कान्छाकाजी पहरीले लेखेको पुस्तकमा पहरी ‘पिही’ जातिको चिनारीमा तालुकी प्रथा कायम हुँदा जिम्मुवाललाई मिजार गग्रुड भन्ने चलन थियो। दसैंमा रैतीहरू प्रसादस्वरूप बोका तथा राँगाको टाउको लिएर आफ्नो मिजार तथा गग्रुड मान्न तथा टिका थाप्न जान्थे। तालुकी प्रथा हटी पगरी हरण भएकाले पहरी हुन गएको हो र यस जातिका पुरुषले अहिले पनि विवाह तथा मांगलिक कार्यहरूमा शीरमा पगरी वा फेटा लगाउनुले सो कुराको पुष्टी भएको भनी चर्चा गरिएको छ। कान्छाकाजीको पुस्तकअनुसार, सिन्धुपाल्चोकको धुस्कुनका गोल्मा राजारानीका सन्तान नै हालका पहरी हुन्। पश्चिमेली खालका गीत गाउने हुनाले यिनीहरू पश्चिमबाटै आएको हुनुपर्छ भनी पुस्तकमा छ। मकवानपुरका पहरीहरू बौद्ध धर्म मान्छन्। पहरीहरू ८० प्रतिशतजतिले हिन्दू धर्म र २० प्रतिशत जति क्रिश्चियन पाएको थापाले शोधपत्रमा उल्लेख गरेका छन्। उनीहरूले मनाउने चाडपर्व र सांस्कृतिक गतिविधिमा हिन्दूधर्मकै प्रभाव बढी छ। सिन्धुपाल्चोक जिल्लामा भने २०५८ को जनगणनामा नदेखिए पनि २०६८ को जनगणनामा तीन सय ९६ जनाले मातृभाषा प्रयोगमा ल्याएको देखिन्छ जसमध्ये एक सय ८९ पुरुष र दुई सय सात महिला छन्। २०६८ को जनगणनामा अनुसार रामेछापका ३२३ पहरीहरू पनि मातृभाषा जान्छन्। धादिङ र मकवानपुरका पहरीहरूले चाहिँ मातृभाषा नजान्ने केन्द्रीय तथ्यांक विभागको तथ्यांकमा उल्लेख छ।
कहाँ कति छन् पहरी ?
पहरीहरूको मूलथलो मकवानपुरको राईगाउँ हो। ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, धादिङ र रामेछापमा पनि पहरीहरूको बसोबास रहेको विभागको तथ्यांकमा छ। नेपालमा सीमान्तकृत जातिमध्ये पर्ने पहरीको जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार बागमती गाउँपालिकामा ११८७ छ। बागमतीले २०७४ सालमा गरेको सर्वेक्षणमा १७९० देखिएको थियो। सिन्धुपाल्चोकमा २०५८ मा ४८८ देखिएकोमा २०६८ सालमा १८८१ रहेको पाइयो। धादिङमा २०५८ मा ७६ रहेकोमा २०६८ मा शून्यमा झरेको देखियो। रामेछापमा ७२२ जना पहरीहरू रहेकोविभागको तथ्यांकमा छ। पहरी समुदायबाट सबैभन्दा ठूलो पदमा पुगेका व्यक्ति हुन्– शेरबहादुर पहरी। उनी समानुपातिक कोटामा एनेकपा माओवादीका तर्फबाट पहरी जातिको प्रतिनिधित्व गदै संविधान सभासदस्य भए। ललितपुर गोदावरी४ का वडाध्यक्ष मुकुन्द पहरी र बागमती गाउँपालिकाका सदस्य जनक पहरी पनिसार्वजनिक पदमा पुगे।यस समुदायका छोरीचेलीले शैक्षिक क्षेत्रमा अवसर पाउने त कमै मात्र छ। हेटौडा–९ का बिष्णु पहरीले छोरी सुप्रियालाई पाइलट बनाउन सक्षम भए। जेठी छोरी सुप्रिया २०७७ असोज महिनामा फिलिपिन्सबाट पाइलटको कोर्ष पूरा गरेर घर फर्किएकी छन्। उनले लाइसेन्स पनि प्राप्त गरिसकेकी छन्।
भाषा, संस्कृति जोगाउन कसले के गरे ?
भाषासँगै पहरीहरूको छुट्टै लिपि छ। विज्ञ सुरेश पहरीका अनुसार, पहरी समुदाय सीमान्तकृत भएको र समुदायका अगुवाहरूमा पढाइ लेखाइको कमी भएका कारण पनि पहरी समुदायमा लिपिको प्रयोग राम्रोसँग हुन सकेको छैन। भाषा तथा संस्कृतिको संरक्षण र सम्वद्र्धनका पहरी समुदायमा चेतनाकै कमी देखिएको पाइएको छ। खासगरी पुरानो पुस्ताले यसतर्फ ध्यान दिन आवश्यक नै ठानेन। राईगाउँका गाउँपालिका सदस्य जनक पहरीका अनुसार, पहिला जे भए पनि अहिलेको पुस्ताले भने भाषा संरक्षणका लागि विभिन्न पहल गरेको छ। भाषा कक्षा सञ्चालन भएको छ। पहरी सेवा समाजको आयोजना र स्थानीय जनप्रतिनिधिमूलक निकायको सहयोगमा २०७० बाट यस्तो कक्षा सुरुआत भएको हो। भाषा कक्षामा २०७० सालमा ७० र २०७४ मा ४० र २०७५ मा ६० बालबालिका सहभागी थिए। जनक पहरीका अनुसार, लिपी र भाषाका धर्म संस्कृतिका विषयमा पुस्तक पनि प्रकाशन गर्न लागिएको छ। पहरी जागरण युवा क्लब काभ्रे र पहरी युवा समाज सिन्धुपाल्चोक, पहरी विकास संघ लगायतका संस्थाले किताब प्रकाशनमा तदारुकता देखाएका छन्। पुस्तकमा संस्थाका पदाधिकारीहरूले नै विभिन्न विषयवस्तुमा लेखरचना तयार गर्ने पहरी जागरण युवा क्लबका अध्यक्ष श्रीकृष्ण पहरीले जानकारी दिन्छन्।
भाषा संस्कृतिको जगेर्ना र संरक्षणका लागि संग्रहालय निमार्णको चरणमा छ। पहरी संग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष बेनीबहादुर पहरीका अनुसार बागमती गाउँपालिकाको सहयोगमा राईगाउँमा पहरी समुदायको संग्रहालय निर्माण भइरहेको छ। संग्रहालयमा पहरीहरूको वेशभूषा र जातित्व झल्किने सामग्रीका साथै आफ्नो धर्मसंस्कृतिका बारेमा जानकारी प्रदान गर्न सकिने खालका लेखरचनाको पनि संरक्षण गरिने अवधारणा बनाइएको छ। पहरी समुदायको इतिहासलाई संरक्षण गर्ने हेतुले संग्रहालय निर्माणमा सहयोग प्रदान गरिएकोे वागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान बताउँछन्।
परिवर्तनले कति छोए पहरीलाई ?
समाजमा विभिन्न परिवर्तन आए पनि पहरी समुदायमा परिवर्तनले छुन सकेको छैन। पहरी विकास संघका केन्द्रीय अध्यक्ष साथै पहरी समुदायका जानकार मुकुन्द पहरीका अनुसार, पहरी समुदायलाई समाज र समुदायसँगै राज्यले पनि छायाँमा पारेको छ। उनी भन्छन्– चेपाङ समुदायका लागि त कम से कम राज्यले चेपाङ आवास निर्माण त गरेको छ। उनीहरूको संरक्षणको विषयलाई प्राथमिकतामा राखेको छ। पहरीलाई वास्ता पनि गरेको छैन। यस्तै बेवास्ताको शिकार भएका कारण पहरीहरू अहिले पनि खेतीकिसानी, ज्यालामजदुरी र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाइरहेका छन्।समयसँगै विभिन्न खालका सामाजिक, राजनीतिक परिवर्तन आए पनि तिनले हुनेखानेको जीवनमा मात्रै परिवर्तन ल्याएको र हुँदा खाने पहरीहरू हेरेको हेर्यै भएको झुरझुरेका पूर्णबहादुर पहरी बताउँछन्।नेपालको संविधानको भाग ३४अन्तर्गत धारा ३०६(ड)मा लेखिएको छ, राजनीतिक, आर्थिक र सामाजिक रूपले पछाडि पारिएका, विभेद र उत्पीडन तथा भौगोलिक विकटताको कारणले सेवा सुविधाको उपभोग गर्न नसकेका वा त्यसबाट वञ्चित रहेका संघीय कानुनबमोजिमको मानव विकासको स्तरभन्दा न्यूनस्थितिमा रहेका समुदाय नै सीमान्तीकृत समुदाय हुन्। पहरी पनि यसैमा पर्छन्।
