काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित खरिबोटमा एक जनाको हत्या भएको छ।
महोत्तरी घर भएका अन्दाजी ३८ वर्षीय समी अहमदले घरायसी विवादका क्रममा आफ्नै सालो नाता पर्ने महोत्तरीकै अन्दाजी २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका मन्सुरीलाई उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो।
उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।
घटनापछि चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोट ले नियन्त्रणमा लिएको छ। प्रहरीले शवको जाँच मुचुल्कापछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
