भक्तपुर । भक्तपुरमा मापदण्डविपरीत सञ्चालन भइरहेका इँटा भट्टा तत्काल हटाउन माग गर्दै अभियन्ता हेम पाठक ले सांसदद्वय रुकेश रञ्जित र राजीव खत्री लाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
बुधबार सांसद रञ्जित र खत्रीलाई संयुक्त रूपमा पत्र बुझाउँदै अभियन्ता पाठकले लामो समयदेखि सञ्चालनमा रहेका इँटा भट्टाबाट फैलिएको प्रदूषणले स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताएका हुन्। उनले विशेषगरी स्कुले बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू सबैभन्दा बढी प्रभावित भइरहेको उल्लेख गर्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।
ध्यानाकर्षण पत्रमा उनले निर्वाचनअघि स्थानीयवासीसँग भएको छलफल स्मरण गराउँदै सांसदद्वयले इँटा भट्टा समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन्। “निर्वाचनअघि स्थानीय जनताले इँटा भट्टाको सन्दर्भमा पहल गर्नका लागि तपाईहरूसँग छलफल गरेका थिए र तपाईहरूले आफूहरू निर्वाचित भए पनि नभए पनि यो समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो,” उनले भने। “आज तपाईहरू दुवै जना सांसद पदमा निर्वाचित हुनुभएको छ। झन्डै दुई तिहाइ बहुमतसहित तपाईहरूकै एकल सरकार छ। यो विषयमा पक्कै पनि तपाईहरूले समाधान निकाल्नुहुन्छ भन्नेमा हामी आशावादी छौं।”
पाठकले यसअघि पनि स्थानीय तह, वातावरणसम्बन्धी सरकारी निकाय तथा सरोकारवालासँग पटक–पटक छलफल र पहल गरिएको भए पनि समस्या समाधानतर्फ ठोस प्रगति हुन नसकेको गुनासो गरेका छन्। उनले वातावरणीय मापदण्ड उल्लंघन गर्ने उद्योगमाथि कडाइ गर्न र जनस्वास्थ्यलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
स्थानीयवासीले समेत इँटा भट्टाबाट निस्कने धुवाँ र धुलोका कारण दैनिक जीवन प्रभावित बनेको बताएका छन्। उनीहरूका अनुसार बिहान–साँझ अत्यधिक प्रदूषण हुने हुँदा विद्यालय जाने बालबालिका, किसान तथा खुला वातावरणमा काम गर्ने नागरिक प्रत्यक्ष असरमा परेका छन्। वातावरण संरक्षण तथा जनस्वास्थ्यको सवाल जोडिएको विषय भएकाले सम्बन्धित निकायले अब ढिलाइ नगरी ठोस निर्णय लिनुपर्ने स्थानीयको माग छ।
