काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा आज बिहान अवतरणको क्रममा टर्किस एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ। विमानको पाङ्ग्रातर्फ अचानक आगो देखिएपछि विमानस्थल क्षेत्रमा केहीबेर त्रासको अवस्था सिर्जना भएको थियो।
विमानस्थल सुरक्षा स्रोतका अनुसार इस्तानबुलबाट काठमाडौं आएको उक्त विमान आज बिहान करिब सात बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको हो। आगो देखिनेबित्तिकै विमानस्थलको आपत्कालीन सुरक्षा टोली सक्रिय भएको थियो। तत्काल दमकल परिचालन गरी केही मिनेटमै आगो नियन्त्रणमा लिइएको विमानस्थल स्रोतले जनाएको छ।
घटनापछि विमानभित्र रहेका यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो। उद्धार कार्यमा विमानस्थल सुरक्षा प्रहरी, प्राविधिक टोली तथा विमानस्थल कर्मचारी परिचालित भएका थिए। प्रारम्भिक जानकारीअनुसार सबै यात्रु तथा चालकदलका सदस्य सकुशल रहेका छन् भने कुनै मानवीय क्षति भएको छैन।
घटनाका कारण केही समय विमानस्थलको नियमित उडान तथा अवतरण प्रक्रियामा सामान्य प्रभाव परेको बताइएको छ। यद्यपि आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि विमानस्थलको सेवा पुनः सामान्य बनाइएको विमानस्थल प्रशासनले जनाएको छ।
प्राविधिक टोलीले विमानमा आगलागी हुनुको कारणबारे विस्तृत अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुमानमा अवतरणका क्रममा पाङ्ग्रामा अत्यधिक घर्षण वा प्राविधिक खराबीका कारण आगो लागेको हुन सक्ने बताइए पनि आधिकारिक पुष्टि भने भइसकेको छैन।
विमानस्थल प्रशासनले घटनाबारे विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। साथै, जहाजको प्राविधिक अवस्था, सुरक्षा प्रणाली र अवतरण प्रक्रियाबारे समेत जाँच अघि बढाइएको बताइएको छ।
