काठमाडौं । चन्द्रागिरि नगरपालिकामा विकास निर्माण तथा जनसरोकारसँग सम्बन्धित समसामयिक विषयमा उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधि सभाका सम्माननीय सभामुख डोल प्रसाद अर्याल को समुपस्थितिमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
आज २०८३ वैशाख २७ गते सम्पन्न कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय सदस्यहरु, चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृत, डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख, नगरपालिकाका जनप्रतिनिधि, सभामुखको सचिवालयका प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा विशेषगरी कलंकी–नागढुंगा–सिस्नेखोला सडकखण्डको मापदण्ड, सडक दुर्घटना न्यूनीकरण तथा सडक स्तरोन्नतिका विषयमा गम्भीर छलफल भएको थियो। सहभागीहरुले बढ्दो सवारी चाप र अव्यवस्थित सडक संरचनाका कारण दुर्घटनाको जोखिम बढिरहेको उल्लेख गर्दै प्रभावकारी व्यवस्थापन आवश्यक रहेको बताएका थिए।

त्यसैगरी शहरी सौन्दर्यकरण, भू–उपयोग व्यवस्थापन, खानेपानी समस्या तथा त्यसको दीर्घकालीन समाधानका उपायबारे समेत व्यापक छलफल भएको थियो। स्थानीयवासीले भोगिरहेका दैनिक समस्यालाई समाधान गर्न तीनवटै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा सहभागीहरुले जोड दिएका थिए।
कार्यक्रममा रोपवे सञ्चालन, सडक बत्ती विस्तार, सिसिटिभि जडान तथा सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिका विषयलाई पनि प्राथमिकताका साथ उठाइएको थियो। नगर क्षेत्रको सुरक्षा, यातायात व्यवस्थापन र आधुनिक शहरी पूर्वाधार विकासका लागि यस्ता योजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।
अन्तरक्रिया कार्यक्रमले चन्द्रागिरि नगरपालिकाको विकास निर्माणसँग सम्बन्धित ज्वलन्त सवालहरु पहिचान गर्दै समाधानका लागि साझा प्रतिबद्धता निर्माण गरेको सहभागीहरुले बताएका छन्। स्थानीय विकासलाई दिगो, व्यवस्थित र नागरिकमैत्री बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अझ मजबुत बनाइने विश्वास समेत व्यक्त गरिएको थियो।
