काठमाडौँ। लगातारको वर्षासँगै आएको पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही सडकखण्डमा पूर्ण अवरोध रहेको छ भने अधिकांश क्षेत्रमा एकतर्फी यातायात सञ्चालन गरिएको छ।
उपत्यकामा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ सडकखण्ड पहिरोका कारण प्रभावित बनेको छ। उक्त क्षेत्रमा हाल एकतर्फी सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भए पनि एकतर्फी सञ्चालनमा ल्याइएको छ। त्यस्तै, संखुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीस्थित कोशी राजमार्गमा गएको पहिरोपछि सडक एकतर्फी रूपमा खुलाइएको छ।
उदयपुरको कटारी नगरपालिका–१४ ददले क्षेत्रमा रहेको सिद्धिचरण लोकमार्ग भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सो क्षेत्रमा सवारी सञ्चालन ठप्प हुँदा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको भकुण्डे–नेपालथोक–कपुरबोट–चौबास सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। प्रहरीका अनुसार बिहान ११ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म सम्पूर्ण सवारी सञ्चालन बन्द गरिएको हो।
गण्डकी प्रदेशतर्फ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड पहिरोपछि एकतर्फी सञ्चालनमा आएको छ। लमजुङको मध्यनेपाल नगरपालिका–१० बिरेश्वर क्षेत्रमा रहेको मध्यपहाडी लोकमार्ग र तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङ क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित भए पनि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सतर्कता अपनाउन, मौसम तथा सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।
थप सडक अवस्थासम्बन्धी जानकारीका लागि:

