काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा वरिष्ठताको स्थापित परम्परा मिचिएको भन्दै सरकारको निर्णयमाथि चौतर्फी आलोचना भइरहेका बेला उपसभामुख रुबी कुमारी ठाकुरले आफ्नो धारणा सार्वजनिक गरेकी छन्। उनले प्रधानन्यायाधीश सिफारिस कार्यक्षमता र योग्यताका आधारमा गरिएको स्पष्ट पारेकी छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उपसभामुख ठाकुरले न्यायपालिकाको नेतृत्व चयन गर्दा केवल वरिष्ठतालाई मात्र आधार बनाइनु उपयुक्त नहुने बताएकी छन्। उनले देशको न्याय प्रणालीलाई प्रभावकारी बनाउन सक्षम र कार्यदक्ष व्यक्तिलाई प्राथमिकता दिइएको उल्लेख गरेकी छन्। साथै, यस विषयमा अनावश्यक किन्तु–परन्तु नगर्न आग्रह समेत गरेकी छन्।
प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा वरिष्ठताको स्थापित रोलक्रम मिचिएको भन्दै कानुन व्यवसायी, राजनीतिक वृत्त तथा नागरिक समाजबाट प्रश्न उठिरहेका छन्। आलोचकहरूले न्यायपालिकामा स्थापित परम्परा तोडिँदा संस्थागत असन्तुलन र विवाद बढ्न सक्ने बताएका छन्।
यता, उपसभामुख ठाकुर आवद्ध रहेको श्रम संस्कृति पार्टीभित्र समेत यस विषयमा मतभेद देखिएको छ। पार्टी अध्यक्ष हर्क साम्पाङले प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णय पार्टीको सहमतिविना गरिएको भन्दै सार्वजनिक असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूले सांसद र उपसभामुख बनाएको व्यक्तिले पार्टीको धारणा विपरीत निर्णय गरेको टिप्पणी गरेका छन्।
हर्क साम्पाङले रुबी कुमारी ठाकुर अब पार्टीको सदस्य नरहेको दाबीसमेत गरेका छन्। यस घटनापछि प्रधानन्यायाधीश सिफारिस विवाद केवल न्यायिक बहसमा सीमित नरही राजनीतिक वृत्तमा समेत नयाँ तरंग उत्पन्न भएको छ।
