काठमाडौं । म्याग्दीबाट निर्वाचित सांसद तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शनिबार काठमाडौंको चन्द्रागिरि क्षेत्रअन्तर्गत थानकोट, त्रिभुवन पार्क लगायत विभिन्न स्थानमा आफ्नै आत्मकथाकाे पुस्तक बिक्री गरेका छन्। पुस्तक बिक्री अभियानका क्रममा एकै दिन करिब एक हजार प्रति पुस्तक बिक्री भएको जानकारी पुनले दिएका छन्।
हाईकर ग्रुपका अध्यक्ष प्रसन्न गाेपालीकाे अध्यक्षता साथै जेसिस तथा स्थानीय सामाजिक संघसंस्थाको निमन्त्रणामा पुन उक्त क्षेत्रमा पुगेका हुन्। पुस्तक खरिदका लागि स्थानीय बासिन्दा, युवायुवती तथा विभिन्न पेशामा आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता देखिएको थियो। पुनले पुस्तक बिक्रीसँगै राष्ट्रिय आविष्कार केन्द्र र वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन अभियानबारे पनि जानकारी दिएका थिए।
वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पुन देशव्यापी रूपमा पुस्तक बिक्री अभियानमा सक्रिय छन्। यसअघि उनले पोखरा, बागलुङ, बेनी, चितवन, बुटवल, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर, हेटौंडा, धरान लगायतका शहर तथा विभिन्न जिल्लामा पुगेर पुस्तक बिक्री गरिसकेका छन्। अभियानका क्रममा सर्वसाधारणबाट सकारात्मक साथ र सहयोग प्राप्त भइरहेको उनले बताएका छन्।
पुनले कृषि औजार कारखाना सञ्चालनमा आए नेपाली किसानलाई आवश्यक उपकरण स्वदेशमै उत्पादन गर्न सकिने र आयातमा निर्भरता घट्ने विश्वास व्यक्त गर्दै आएका छन्। उनले सरकारको मात्रै भर नपरी नागरिकस्तरबाट पनि उद्योग पुनर्जीवन अभियानमा योगदान आवश्यक रहेको धारणा राख्दै पुस्तक बिक्रीलाई जनसहभागितामूलक अभियानका रूपमा अघि बढाएका छन्।
देशका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री गरिरहेका पुनको अभियानप्रति सर्वसाधारणको चासो बढ्दो देखिएको छ। प्रविधि, नवप्रवर्तन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित अघि बढाइएको यो अभियानले वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
