काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गा अनाधिकृत रूपमा प्रयोग गर्दै आएका व्यक्तिहरूलाई निर्धारित समयभित्र उक्त क्षेत्र खाली गर्न निर्देशन दिइएको हो।
नगरपालिकाद्वारा प्रकाशित सूचनामा सूचना जारी भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो सामान सुरक्षित स्थानमा सारेर अतिक्रमित जग्गा खाली गर्नुपर्ने उल्लेख गरिएको छ। तोकिएको अवधिमा अतिक्रमण नहटाए प्रचलित कानुन तथा नेपाल सरकारको नीतिअनुसार आवश्यक प्रक्रिया पूरा गरी बलपूर्वक हटाइने चेतावनी पनि दिइएको छ।
यसैगरी, अतिक्रमण हटाउने क्रममा हुन सक्ने कुनै पनि क्षति वा असुविधाप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने स्पष्ट पारिएको छ। नगरपालिकाले सबै सरोकारवालालाई जानकारी गराउँदै अतिक्रमण नियन्त्रण अभियानमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।
