काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले दिएको निर्देशनको एक सातामै सशस्त्र प्रहरी बल भारतीय सीमा नाकामा सक्रिय रूपमा उत्रिएको छ। सीमा सुरक्षालाई थप सुदृढ बनाउने उद्देश्यसहित जनशक्ति वृद्धि र गस्ती कडाइ गरिएको हो।
गुरुङले सशस्त्र प्रहरी मुख्यालय निरीक्षणका क्रममा सीमा क्षेत्रमा सुरक्षा चुनौती बढ्दो देखिएको भन्दै तत्काल जनशक्ति थप गर्न निर्देशन दिएका थिए। सोही निर्देशन कार्यान्वयन गर्दै सशस्त्र प्रहरीले सीमामा आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता तथा नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्ट का अनुसार हालसम्म भारतीय सीमा क्षेत्रमा २ हजार २०० थप सुरक्षाकर्मी परिचालन गरिएको छ। उनले केही दिनभित्रै यो संख्या बढाएर ३ हजार पुर्याउने तयारी भइरहेको जानकारी दिए।
थपिएको जनशक्तिसँगै सीमावर्ती क्षेत्रमा गस्ती, निगरानी तथा चेकजाँचलाई अझ प्रभावकारी बनाइएको छ। अवैध गतिविधि नियन्त्रण, तस्करी रोकथाम र आवागमन व्यवस्थापनमा केन्द्रित भएर सुरक्षा रणनीति अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सरकारको प्राथमिकतामा सीमा सुरक्षा परेको संकेतस्वरूप गरिएको यो कदमले सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा मजबुत हुने अपेक्षा गरिएको छ। स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयलाई समेत सुदृढ बनाउँदै थप प्रभावकारी निगरानी गर्ने योजना अघि बढाइएको छ।
