भक्तपुर। मध्यपुर थिमि नगरपालिकाको आयोजना तथा राज गणेश धिमे खलःको संयोजनामा सम्पन्न खुल्ला धिमेबाजा प्रतियोगितामा चन्द्रागिरी नगरपालिका अवस्थित नास भैरव धिमे खलः प्रथम स्थान हासिल गर्न सफल भएको छ।
परम्परागत नेवारी सांस्कृतिक बाजाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न स्थानका धिमे खलःहरूको उत्साहजनक सहभागिता रहेको थियो।
प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै पहिलो स्थान हासिल गरेको नास भैरव धिमे खलःलाई नगद रु ५४ हजार ४ सय ४४ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले विजेता टोलीलाई पुरस्कार हस्तान्तरण गर्दै उनीहरूको कला र समर्पणको उच्च प्रशंसा गरे।
कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले धिमेबाजा जस्तो मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू महत्वपूर्ण हुने उल्लेख गरे। उनले युवा पुस्तालाई परम्परागत कला-संस्कृतितर्फ आकर्षित गर्न स्थानीय तहले निरन्तर पहल गरिरहने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा सहभागी अन्य धिमे खलःहरूले पनि आफ्नो कला प्रस्तुत गर्दै दर्शकको मन जितेका थिए। कार्यक्रमले थिमि क्षेत्रलाई सांस्कृतिक रूपमा अझ जीवन्त बनाउँदै स्थानीय कला र परम्पराको संरक्षणमा टेवा पुर्याएको आयोजकले जनाएको छ।
