नलुक्नुस् पछाडि अगाडि आउनुपर्छ ,
सबैले आफ्नो जिम्मेवारी उठाउनुपर्छ ,
सम्पत्ति विरासतमा पनि मिल्छ साथी ,
तर पहिचान आफ्नै बलमा बनाउनुपर्छ।
दार्शनिक मार्ग ट्वयन ले भनेका छन् ‘त्यो व्यक्ति जसले पढ्न सक्छ, जान्दछ तर पढ्दैन ऊ र त्यो व्यक्ति जसले पढ्न जान्दैन उसमा केही पनि फरक छैन । एकजना युवाको एकदमै पढ्ने बानी थियो । उसले पढेको देखेर उसका साथीभाइहरूले भन्ने गर्थे,कति पढेको ???? के के नै हुम्ला जस्तो । पढन्ते युवक भन्थ्यो “जति पढ्यो त्यति सिकिन्छ, पढ्नु भनेको आफूलाई तयारी अवस्थामा राख्नु हो । के थाहा एकदिन देशकै राष्ट्रपति पो भइन्छ कि…। साथीहरु हाँसे। खिल्ली उडाए। तिनै पढैया व्यक्ति पछि साँच्चिकै राष्ट्रपति बने अमेरिकाको १६ औँ राष्ट्रपति अब्राम लिङ्कन ।
म विशेषगरी युवा युवती भाइबहिनीहरूका लागि केही शब्दहरू खर्चिँदै छु। कृपया पढ्नुहोस् । केवल डिग्रीको सर्टिफिकेट लिन होइन, मैले यति पढेको हो भनेर ध्वाँस देखाउन पनि होइन । तपाईं शिक्षित हो भनेर अरुले महसुस गर्नका लागि पढ्नुहोस् । आज मान्छेले जति नै कमाओस ,जुनसुकै पोजिसनमा पुगोस् र पनि भनिरहेका हुन्छन् बेलैमा मेहनत गरेर पढ्न सकिएन । यदि बेलैमा मेहनत गरेर पढेका भए आज म यो स्थान हासिल गर्न सक्थें।
एउटा कक्षामा पाँच सात जना मिल्ने साथीहरू थिए उनीहरू मध्ये एउटा असाध्यै तेज थियो । क्लास मा जहिले फर्स्ट आउँथ्यो तर पढाइमा लापरवाह देखिन्थ्यो । पढ्ने कुरा गर्यो कि कम्पारो तातिहाल्ने । भन्थ्यो “म सँग पढाइको कुरा नगर यार,लास्टै बोरिङ कुरा हो”। जाँचको बेलामा पढ्ने हो जति आउँछ त्यति लेख्ने हो । ऊ खाली फिल्मका कुराहरु गर्थ्यो । मानौँ उसले सबै फिल्महरु हेरेको छ। स्कुलका सरहरुलाई पनि लाग्थ्यो ऊ साँच्चिकै जिनियस छ। विलक्षण प्रतिभाको छ। किनकि क्लासमा पढाइमा ध्यान छैन तर परिक्षामा प्रथम हुन्छ । सबैतिर यस्तै मेसेज पुगेको थियो कि लोकेश जिनियस छ। उसको प्रतिभाका अगाडि सबै फिक्का लाग्थे । एकदिन बजारमा उसकी आमालाई साथीहरुले भेटेर उसको बारेमा सोधे । बिचरा आमालाई छोराको रणनीति के थाहा । आमाको कुरा सुनेर उनीहरू चकित परे। आमाको कुरा पत्याउँ कि नपत्याउ…। आमाको कुरा अनुसार त ऊ राति ११ बजेसम्म पढ्ने बिहान ४ बजे नै उठेर धम्मरधुस। उसलाई फिल्म हेर्ने बानी छैन बरु फिल्मी न्युज हेर्छ र सुन्छ। यता साथीहरूलाई क्लासमा उंघे जस्तो गरेर बेकुप बनाउँछ। साथीहरु पनि कतिसम्मका तरीडा हुन्छन् भन्ने कुरा उसको वास्तविकता पत्ता लगाउने निर्णय गरे र राति १०:३० बजेतिर उसको घरमा गए । लोकेशको आवाज निकालेर पढ्ने बानी, पढिरहेको थियो ।आमा कराइरहेकी थिइन् ‘ए सुत बाबु ! ढिला भइसक्यो यसरी पढ्न थालेपछि ज्वरो आउँदैन त अस्ति कस्तो भएको थियो’.. …। यति थाहा पाएपछि साथीहरुलाई के चाहियो ??
उसँग बेग्लै प्रतिभा , बिलक्षण प्रतिभा केही पनि थिएन । ऊ साथीहरूलाई भ्रममा पारेर भुलाउन चाहन्थ्यो ताकि कसैले उसलाई जित्न नसकुन्। उ फस्ट हुन्थ्यो बिलक्षण प्रतिभाले होइन कठोर परिश्रमले । तपाईं केही बन्नुहुन्छ भने आफ्नो अभ्यास, श्रम र मेहनतले बन्नुहुन्छ । आफ्नो बाल्यकाललाई सम्झिन सक्नुहुन्छ भने सम्झनुहोस् त तपाईँ कति तेज हुनुहुन्थ्यो…? आज त्यो तेजिलोपन धमिलियो किन ? भविष्य उसैको उज्ज्वल छ जसले सिक्छ र सिकिरहन्छ । पढ्नुको अर्थ हो आफूलाई तयार राख्नु । पढाइले जीवन बदलिन्छ । पुस्तकले तपाईंको दुनियाँलाई घचघच्याउँछ र बाटोहरुमा हिँड्न प्रेरित गर्छ । जुन पहिला सायद कहिल्यै सोचिएको थिएन । कम्तिमा दिनमा एक घण्टा आफ्नो कोर्स भन्दा बाहिरका पुस्तक पढ्ने समय निकाल्नुस् । हरेक दिन एक घण्टा पढ्नु भनेको हप्तामा लगभग एउटा, महिनामा ४ वटा ,वर्षमा ४८ वटा पुस्तक पढ्नु हो । यति पुस्तक पढ्नु भनेको डिग्री होल्डरले पढे जत्तिकै हो । दुई चार वर्ष यस्तो नियम बनाउनुभयो भने के हुन्छ..?
एउटा पुस्तक या मात्र एउटा वाक्यले मान्छेको जिन्दगीमा ठूलो परिवर्तन ल्याउँछ । एउटा युवक घरमा बुबाआमासँग रिसाएर घर छोडेर जाँदै थियो । बाटोमा एउटा गाडीको पछाडि भागमा लेखिएको थियो “भगवान भन्नु नै आमा बाबा हुन्” यो एउटा वाक्यले उसको मानस पटलमा झन्कार उत्पन्न गरायो । तुरुन्तै फर्केर घर गयो। बाबाआमाले हार्दिकताले अङ्कमाल गरे। अर्को एउटा व्यक्ति काममा जाँदै थियो । हतार भएको थियो आतिएको थियो । एउटा बोर्डमा लेखिएको थियो ‘छिटो गए भन्न सकिन्न ढिला गए अवश्य पुगिन्छ। तपाईंको परिवार तपाईंलाई कुरेर बसिरहेका छन्’। पढ्न जान्नु मात्रै शिक्षित हुनु होइन शब्द शब्दको भाव बुझ्न सक्नु ,बुझाउन सक्नु भनेको उ पढलेखा हुनु हो, शिक्षित हो । पढलेखा मान्छेहरुको साहित्य हेर्नुस हामी बुझ्दैनौं । ‘अरे साहित्य नघुसा’ भनेर उसको बोलीबाट तर्कने प्रयास गरिरहेका हुन्छौं । साहित्य क्रिकेट खेल जस्तै हो । नबुझुन्जेल मूर्खहरुले खेल्ने महामुर्खहरूले हेर्ने खेल जस्तो लाग्छ ।
एउटा पुस्तकले मान्छेको अवचेतन मनमा निष्क्रिय भएर सुतेको अपार शक्तिलाई जाग्न प्रेरित गर्छ । एउटा पुस्तकले एउटा मान्छेलाई मात्र होइन सम्पूर्ण संस्कृति बोल्नुका साथै विश्वको नक्सामा फेरबदल गर्ने हैसियत राख्छ । पढ्नुको अर्थ यो होइन कि केवल स्कुलको कोर्सका पुस्तक पढेर डिग्री मात्र लिनुस् । यस्तै डिग्री मात्र लिएकाहरु हुन् फेरि पढेका बुद्धि डढेका कहलिने अल्पज्ञानीहरू। उनीहरूमा संसारलाई जितेको जस्तो अरुलाई अवमूल्यन गर्ने अहंकार हुन्छ। पढ्नुको अर्थ यो हो कि जीवन जिउने कला सिक्नु, सुन्दर तरिकाले जीवन बाँच्ने कला सिक्नु । शिक्षित मान्छेहरूको बोल्ने शैली फरक हुन्छ । व्यवहार फरक हुन्छ ,शब्द चयन फरक हुन्छ। विचार विमर्श गरेर बोल्छन् । सम्झाउन सक्छन् ,सम्झिन सक्छन् । अनपढहरूसँग व्यवहार गर्न बडो कठिन हुन्छ । न बुझ्छन् न बुझाउँछन् । त्यही भएर त जीवनसाथी पनि शिक्षित हुनुका साथसाथै समझदार हुनुपर्छ भनेर खोजी हुन्छ। नत्र त जीवन नरक बन्छ सम्बन्ध टुट्नुको मूल कारण पनि यही हो।
एउटा पढिरहेको व्यक्तिलाई हेरेर अरुले सोच्ने कुरा के हो…? यो मान्छे कुनै राम्रो कुराको तयारी गरिरहेको छ। अध्ययनशील मान्छे हो भन्ने नै लाग्छ । झट्ट केही कुरा सोध्नलाई पनि विचार पुर्याएर मात्र सोधिन्छ। डिस्टर्ब पो भयो कि भन्ने हुन्छ। पढ्ने बानीको विकास गर्नुभयो भने तपाईं फरक देखिनुहुन्छ । मान्छेहरु कुनै पनि कुरा तपाईंलाई सोध्न थाल्छन् । तपाईँप्रति मानिसहरूको विश्वास बढ्न थाल्छ । विचार गर्नुहोस् त दिनभर कुनै गल्लीचोकमा बसेर गफ लडाउने, बन्द कोठाभित्र टिभी र मोबाइलमा हराउनेलाई कि ,दैनिक अध्ययनशील व्यक्ति, कसलाई बढी भरोसा गरिन्छ, चर्चा गरिन्छ…? त्यस्ता पुस्तकहरुले हाम्रो असफलताका धेरै रहस्यहरु खोल्छन् नयाँ बाटो देखाइदिन्छन् । पश्चिमाहरूले संसारलाई शासन गरे केको प्रेरणाले…? ज्ञान र प्रविधिमा आफ्नो पहुँच बढाएर …। मेसोडेनिया जस्ता एउटा फुच्चे देशको अलेक्जेन्डर आयो र दुनिया जित्यो । मुसलमान बाबर बारुद पड्काउँदै आयो र पुरै भारत जित्यो । अंग्रेजले तोपको विकास गर्यो र पुरै संसारलाई कब्जामा पार्यो । शिक्षा र ज्ञानको माध्यमबाट। फरक पर्छ, शिक्षाले फरक पार्छ । पढ्नुहोस र ज्ञानी बन्नुहोस ।
श्रीराम रानाभाट हाल युएई
