काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौंस्थित विभिन्न देशका राजदूतहरूसँग सामूहिक भेट गर्ने भएका छन्। बुधबार (चैत २५) आयोजना हुन लागेको उक्त भेटमार्फत नेपाल र अन्तर्राष्ट्रिय समुदायबीचको कूटनीतिक सम्बन्ध थप मजबुत बनाउने लक्ष्य लिइएको छ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार भेटघाटमा द्विपक्षीय सम्बन्ध, विकास सहकार्य, लगानी प्रवर्द्धन तथा समसामयिक अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल हुने कार्यक्रम तय गरिएको छ। यसलाई नेपालले विश्व समुदायसँग सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको छ।
भेटमा सहभागी हुने राजदूतहरूसँग आर्थिक सहयोग, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि केन्द्रित छलफल हुने अपेक्षा गरिएको छ। सरकारले विदेशी लगानी भित्र्याउने र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने रणनीति अघि सारेको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण मानिएको छ।
प्रधानमन्त्री शाहले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सक्रिय र विश्वासिलो साझेदारका रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको बताइएको छ। यस भेटले नेपाल–विदेश सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास सरकारी पक्षले व्यक्त गरेको छ।
