काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ बुधबार आफ्नो टोलीसहित काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षणमा पुगेका छन्। हरेक वर्ष दोहोरिने बाढीका कारण स्थानीयले भोग्दै आएका समस्या र जोखिमबारे प्रत्यक्ष जानकारी लिन उनी उक्त क्षेत्रमा पुगेका हुन्।
निरीक्षणका क्रममा स्थानीयवासीले बाढीका कारण हुने जनधनको क्षति, खेतीयोग्य जमिनमा पर्ने असर तथा पूर्वाधारमा हुने क्षतिबारे गुनासो राखेका थिए। मन्त्री गुरुङले समस्याको गम्भीरता स्वीकार गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक योजना र पहल अघि बढाइने बताएका छन्।
उनले बाढी नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावकारी कदम चालिने प्रतिबद्धता जनाएका छन्। साथै, प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई समेत प्राथमिकतामा राखिने उनको भनाइ छ।
