भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका–१, दुवाकोटमा केएमसीले बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सरस्वतीखेलस्थित सरस्वती मन्दिर प्राङ्गणमा आयोजित उक्त शिविरमा ४०० भन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका छन्।
वडा नं. १ का अध्यक्ष सिजन कार्कीका अनुसार “स्थानीय नागरिक स्वस्थ भए मात्र विकास र सुशासन सम्भव हुन्छ” भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो। शिविरमा मुटु, दन्त, हाडजोर्नी तथा आँखा लगायत विभिन्न रोगहरूको निःशुल्क जाँच गरिएको थियो।
शिविरका लागि प्राविधिक सहयोग काठमाडौं मेडिकल कलेज अस्पताल, युनिट–२ दुवाकोटले उपलब्ध गराएको जनाइएको छ। अस्पतालका अध्यक्ष सुनिल शर्माका अनुसार शिविरमार्फत पहिचान भएका आर्थिक रूपमा कमजोर २० जना बिरामीको औषधिबाहेक निःशुल्क शल्यक्रिया गरिनेछ। स्थानीय स्तरमै विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्यसहित आयोजना गरिएको शिविर प्रभावकारी बनेको जनाइएको छ।
