खाेटाङ। किसानलाई सताउँदै आएको बाँदरको समस्या समाधान गर्न सरकारले दीर्घकालीन र प्रभावकारी रणनीति अवलम्बन गर्नुपर्ने माग उठ्न थालेको छ। विशेषगरी कृषिजन्य उत्पादनमा बाँदरको क्षतिले किसानहरू मारमा परिरहेका बेला विज्ञहरूले तीन प्रमुख उपाय अघि सारेका छन्। यी उपाय कार्यान्वयन भएमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण भई कृषिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
पहिलो उपायका रूपमा बाँदरलाई वनमै रमाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। वन क्षेत्रमा बाँदरका लागि आवश्यक फलफूल तथा अन्य खाने बोटबिरुवा रोपेर उनीहरूको प्राकृतिक बासस्थानमै खाद्य सुनिश्चित गर्नुपर्ने सुझाव छ। यसका लागि स्थानीयस्तरमा श्रमदानसँगै राज्यको बजेट परिचालन गर्नुपर्ने बताइएको छ, जसले बाँदरलाई बस्तीमा पस्नबाट रोक्न मद्दत गर्ने विश्वास लिइएको छ।
त्यस्तै, बढी प्रभावित क्षेत्रबाट बाँदरलाई उपयुक्त वन क्षेत्रमा स्थानान्तरण गर्ने र मानव बस्तीबाट टाढा सुरक्षित स्थानमा व्यवस्थापन गर्ने अर्को उपाय प्रस्ताव गरिएको छ। साथै, बाँदरको अनियन्त्रित वृद्धि रोक्न वैज्ञानिक विधिबाट बन्द्याकरण (स्टेरिलाइजेसन) कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। यी उपायलाई समन्वित रूपमा कार्यान्वयन गर्न सके किसानको समस्या दीर्घकालीन रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
