ढिलै बन्नुहोस् तर केही न केही बन्नुहोस् किनकि समय सँगसँगै मान्छे तपाईंको खबर मात्र होइन हैसियत पनि सोध्ने गर्छन् ।
सबैका लागि नौलो नहुन सक्छ तर दोहोर्याएर सुन्यो /पढ्यो भने पनि पूर्ण स्मरण हुन्छ । अर्को कुरा के पनि लाग्न सक्छ भने कुनै पशुपंक्षीको जीवनसँग मनुष्य जीवन तौलेर पार लाग्दैन भन्ने पनि लाग्ला तर कतिपय कुराहरु त्यस्ता हुन्छन् जुन देखेकै भरमा ,सुनेकै भरमा आफूमा पनि त्यो उमङ्ग भरेर ल्याउन मन लाग्छ। भनिन्छ नि हामीले जे सोच्छौं त्यो बन्छौँ । कसैलाई नराम्रो सोच्ने गर्छौं उसँग सम्बन्ध नराम्रै बन्छ राम्रो सोच्यौँ भने सम्बन्ध राम्रै बन्छ । सोचाइले जीवन बदलिने हो ।
चिलबाट सिक्न सकिने यी सातवटा उदाहरणीय पाठ :
१) चिलसँग स्पष्ट दृष्टिकोण (vision)हुन्छ: चिलसँग कुनै पनि चिजमा फोकस (focus) गर्ने त्यो क्षमता हुन्छ चाहे जतिसुकै अप्ठ्यारो परिस्थिति होस् । ऊ आफूले देखेको शिकारबाट आँखा हटाउँदैन तबसम्म जबसम्म त्यो आफ्नो पन्जामा पार्दैन । मतलब तपाईं हामीसँग पनि स्पष्ट फोकस दृष्टिकोण (focus /vision )हुनुपर्छ चाहे जतिसुकै अप्ठेरो र चुनौतीको सामना गर्न किन नपरोस् । त्यो सपनाबाट आँखा विचार र पाइला हटाउनु हुँदैन जबसम्म त्यो चिज हासिल हुँदैन ।
२) चिल जस्तो निडर अर्को पंछी हुँदैन: जब ऊ कुनै शिकारमाथि आक्रमण गर्छ ,त्यसको बनावट र शक्तिबाट पछि हट्दैन । शिकारका लागि ऊ त्यो लडाई लडेरै छाड्छ । अर्थात् त्यो आफ्नो बनाएरै छाड्छ । त्यसैगरी तपाईं समस्या र चुनौती जति नै ठूलो होस् सामना गर्नुहोस् पछि हट्ने होइन । निडर मान्छे जस्तोसुकै अवस्थाबाट पनि भाग्न खोज्दैन ।
३) चिल १० हजार फिट उचाइमा उड्न सक्छ त्यो पनि एक्लै :
साना भुराभुरी अन्य पंछीसँग मिसिने ,भएको शिकारमा लुछाचुडी गर्ने जस्ता काम गर्दैन । तपाईं पनि सानो सोच भएका जसले तपाईँलाई खसाल्न चाहन्छन् । प्रतिद्वन्दी सम्झने र तपाईँलाई राम्रो गर्नमा प्रेरणा होइन, तपाईं जहाँ जे बन्न खोज्दै हुनुहुन्छ त्यहाँ अवरोध ल्याउने, पानी धमिल्याउने जस्ता व्यक्तिहरुसँगको उठबसबाट टाढा रहनुहोस् । तपाईँको लक्ष्य सपना पूरा गर्नमा तपाईँको संगतको ठूलो हात हुन्छ। एक्लो रुख सही ठाउँमा उम्रिएको छ भने बलियो भएर उम्रन्छ हुर्कन्छ ।
४) पन्छीहरू मध्यमा चिल उमङ्ग र उत्साहमा बाँच्ने पन्छी हो:
जब बादल एकत्रित हुन्छ चिल उत्साहित हुन्छ । जब हावाहुरी चल्न थाल्छ ऊ त्यो बादलभित्र पस्छ । त्यो बतास् सँगसँगै त्यो प्रतिकूलतासँग डटेर सामना गर्छ ,त्यसैमा रमाउने गर्छ । तर त्यतिबेला अन्य पंछीहरु ज्यान बचाउन भागाभाग गरिरहेका हुन्छन् । अर्थात् जो उत्साह उमङ्गमा बाँचिरहेका हुन्छन् उनीहरु चुनौतीबाट भाग्दैनन् बरु अवसरका रूपमा लिन्छन् । हेर्न मात्र जान्नुपर्छ सङ्घर्षभित्र पनि हर्ष लुकेको हुन्छ ।
५) चीलले मरेको या बासी शिकार खाँदैन: ऊ शिकार आफूले गरेर मात्र खान्छ । कति महत्वपूर्ण कुरा। विगतमा म कति सफल थिएँ ,म कस्तो थिएँ त्यसमा भर नपर्नुस् । अर्को कुरा अरुको मेहनतमा भर नपर्नुहोस् । आफ्नै पौरख खानुहोस् । अल्छी उनीहरू हुने गर्छन् जसलाई भाग्यले साथ दिन्छ। अरुको मेहनतमा रमाउन पाइन भन्ने होइन र म विगतमा यस्तो थिए र यति थियो पनि भन्ने होइन। Always look for new front tyres to a conquer.
६) चिल तालिमका लागि जहिले तयारीमा रहन्छ: अर्थात् आफ्नो सन्तानलाई त्यही अनुसारको तालिम दिएको हुन्छ । जब बच्चा हुन्छन् आफ्नो गुणमा भएको प्वाखहरू, घाँसहरु फालिदिन्छ ताकि बच्चाहरुलाई गुणमा बस्न अप्ठ्यारो होस् । जो उड्न अल्छी गर्छ उसलाई भोकै राखिदिन्छन् र जो उड्न तयारी हुन्छन् आमाले सँगै लिएर हिँड्छे । खस्न लागे समातिहाल्छे । शिक्षा के त भन्दा जहाँ आराम छ त्यहाँ आराम गरेर नबस्नुस् । किनकि त्यहाँ ग्रोथ(प्रगति ) हुँदैन। सन्तानलाई माया गर्नुका साथसाथै चुनौती दिन पनि डराउनु हुँदैन । बगैँचामा राम्रो मलजल गरी उमारेको बोटले पनि राम्रो फल दिँदैन । उता ढुंगाको कापा फोरेर पिपल उम्रन्छ अनि त्यो पिपलको पूजा गरिन्छ । त्यसैले भनिन्छ उठ्ने मान्छे ढुङ्गा फोरेर पनि उठ्ने गर्छ कमजोरहरु गल्ती खोज्ने र गुनासो गर्ने मात्र हुन्छन् ।
७) चिलले आफ्नै इच्छाले पुनर्जन्म लिन्छ :
यसको यो मतलब होइन ऊ मर्छ र फेरि जन्मन्छ । यसको यो मतलब हो कि जब चिल ३० वर्ष पुग्छ, बुढो हुन थाल्छ, पहिले झैँ उड्न सक्दैन, सिकार गर्न सक्दैन। अब उसँग दुईवटा विकल्प हुन्छ । कि मर्नु किआफैलाई पुनर्निर्मित गर्नु । हिम्मत हार्दैन, चुनौती उठाउँछ । आफैँलाई पुनर्निर्मित गर्ने निर्णय गर्छ। र अग्लो पहाडको त्यस्तो एकान्त ठाउँमा जान्छ । पुराना प्वाखहरु नाङ्गै हुनेगरी उखेल्छ। पहाडमा चुचो बजार्छ ,नङ्ग्राहरू रगतामे हुने गरी… दुःखद प्रक्रिया। र करिब पाँच महिना ,जबसम्म नयाँ प्वाख ,नयाँ पञ्जाहरु दरिएर आउँदैनन् । त्यही पहाडमा धैर्य गरेर बस्छ । त्यसपछि जब बाहिर निस्कन्छ त्यही जोस, त्यही जाँगर, त्यही शक्ति र एकाग्रताका साथ पूर्ण ३० देखि ४० वर्ष बाँच्ने गर्छ ।
यदि तपाईँ भित्रको मान्छेले तपाईँलाई हराउँदैन भने कसैले हराउन सक्दैन । हामीले समय समयमा हाम्रो दैनिकी, सफलता,असफलताको पुनरावलोकन गर्नुपर्छ । सामान्य जिन्दगी बाँच्ने हो भने भिडभाड, संगी साथी मोजमस्तीमा रमाउँदा हुन्छ । तर असामान्य, असाधारण बन्ने हो भने अब पुराना बानीहरु बदलेर मैले त यो चिज हासिल गर्नैपर्छ भन्ने संकल्पका साथ उठ्नुस् र अगाडि बढ्नुहोस् । हरेक बिहान संकल्पका साथ उठ्नुस र सुत्ने बेलामा सन्तुष्टिका साथ सुत्नुहोस् ।
~श्रीराम रानाभाट -युएई
