काठमाडौं । खोटाङ जिल्लाबाट निर्वाचित माननीय आरेन राईले गृहमन्त्री सुदन गुरुङसँग भेट गरी जिल्लाको सुरक्षा, प्रहरी प्रशासन र पूर्वाधारसँग सम्बन्धित पाँच महत्वपूर्ण मागहरू प्रस्तुत गर्नुभएको छ। उहाँले जिल्लामा बढ्दो सुरक्षा आवश्यकतालाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो।
पहिलो बुँदामा उहाँले इलाका प्रहरी कार्यालय केपिलासगढी, बाक्सिलाको भवन निर्माण यथाशीघ्र गर्नुपर्ने माग गर्नुभएको छ। हालको कमजोर भौतिक संरचनाका कारण सेवाप्रवाहमा समस्या आएको उल्लेख गर्दै उहाँले आधुनिक र व्यवस्थित भवन निर्माणले सेवा प्रवाहमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
दोस्रो बुँदामा अस्थायी रूपमा सञ्चालनमा रहेका छितापोखरी र भडारेघाट प्रहरी चौकीहरूको स्थायी भवन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै तेस्रो बुँदामा शस्त्र प्रहरी बल जन्तेढुङ्गा गाउँपालिकास्थित शस्त्र बेस हटाउने विषय रोक्न माग गरिएको छ, जसले स्थानीय सुरक्षामा असर पर्ने उहाँको भनाइ छ।
चौथो बुँदामा जिल्लाभित्र रहेका सम्पूर्ण अस्थायी प्रहरी चौकीहरूलाई क्रमशः स्थायी प्रहरी चौकीमा स्तरोन्नति गर्नुपर्ने माग राखिएको छ। यसले ग्रामीण क्षेत्रसम्म सुरक्षा पहुँच विस्तार हुने र नागरिकमा सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरिएको छ।
पाँचौँ बुँदामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–पाथेका तथा केपिलासगढी गाउँपालिका वडा नं. ७ सुङ्देलमा स्थायी प्रहरी चौकी स्थापना गर्नुपर्ने माग पनि गरिएको छ। यी पाँच बुँदे माग कार्यान्वयन भए खोटाङ जिल्लाको समग्र सुरक्षा व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।
