काठमाडौं । सिंहदरबार प्रवेशका लागि पुनः डिजिटल गेट पास प्रणाली सञ्चालनमा आएको छ। ‘नागरिक एप’ मार्फत उपलब्ध क्यूआर कोड स्क्यान सुविधा प्रयोग गरी सेवाग्राहीहरूले अब सहज रूपमा गेट पास लिन सक्ने भएका छन्। यसअघि २४ भदौको आन्दोलनका क्रममा सिंहदरबार प्रवेशद्वारमा रहेको क्यूआर कोड स्क्यान प्रणालीमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको थियो।
सरकारले सेवा पुनः सञ्चालनसँगै सेवाग्राहीलाई डिजिटल माध्यमबाट प्रवेश प्रक्रिया अपनाउन आग्रह गरेको छ। अब सेवाग्राहीले आफ्नो मोबाइलमा रहेको नागरिक एप प्रयोग गरी आफू जान चाहेको मन्त्रालय वा कार्यालयका लागि गेट पास आवेदन दिनुपर्नेछ। त्यसपछि सम्बन्धित निकायबाट उक्त आवेदन स्वीकृत भएको सुनिश्चित गर्नुपर्ने व्यवस्था गरिएको छ।
स्वीकृति प्राप्त भएपछि सेवाग्राहीले सिंहदरबार प्रवेशद्वारमा पुगेपछि त्यहाँ उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ। स्क्यानपछि प्राप्त हुने डिजिटल गेट पास सुरक्षाकर्मीलाई देखाएर सहज रूपमा प्रवेश गर्न सकिनेछ। यस प्रणालीले प्रवेश प्रक्रियालाई थप व्यवस्थित, छरितो र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
