काठमाडौं। हालै चैत १५ गते भएको घटनामा शान्तिपूर्ण रूपमा आफ्नो विचार व्यक्त गरिरहेका GenZ युवामाथि भएको हातपात तथा दुर्व्यवहारप्रति संयुक्त जेन्जी आन्दोलनले गम्भीर आपत्ति जनाएको छ। संसद भवनमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनले उक्त घटनालाई लोकतान्त्रिक मूल्य र अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो चुनौतीको रूपमा चित्रण गर्दै घोर भर्त्सना गरेको हो।
विज्ञप्तिमा विशेष गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केही कार्यकर्ताहरू संलग्न रहेको भनिएकोप्रति चिन्ता व्यक्त गरिएको छ। आन्दोलनले युवाहरूको आवाज दबाउने, डर र त्रास सिर्जना गर्ने तथा हिंसात्मक गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारेको छ। साथै, लोकतन्त्रमा फरक विचार राख्नु अपराध नभएको उल्लेख गर्दै यस्ता घटनाले नागरिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ।
संयुक्त जेन्जी आन्दोलनकी सह–संयोजक नर्गिस थापा ले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन तथा पीडित युवाहरूलाई न्याय र सुरक्षाको प्रत्याभूति दिन सरकारसँग माग गरेकी छन्। साथै, भविष्यमा यस्ता घटना नदोहोऱ्याउन आवश्यक कदम चाल्न आग्रह गर्दै सम्पूर्ण नागरिक, युवा वर्ग र सरोकारवालालाई शान्तिपूर्ण रूपमा आवाज उठाउन र यस्ता गतिविधिविरुद्ध एकजुट हुन अपिल गरिएको छ।
